माधव नेपालनिकट विद्यार्थी नेताले दिए आयोगमा नयाँ पार्टी दर्ता निवेदन


काठमाडौँ – झलनाथ खनाल-माधव नेपाल पक्षका विद्यार्थी नेता जीवन राईले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

युवा नेता जीवन राई अध्यक्ष रहेको सो पार्टीको नाम ‘नेकपा एकीकृत’ र चुनाव चिन्ह ‘कलम’ प्रस्ताव गर्दै आयोगमा निवेदन परेको हो। संखुवासभाका राई अनेरास्ववियू सचिवालय सदस्य थिए।

२५ सदस्यीय केन्द्रीय कमिटी रहेको उक्त पार्टीको उपाध्यक्ष कास्कीकी कल्पना गुरूङ र महासचिवमा काभ्रेका विनोद कुमार खुलाल छन्। सचिवमा ऐन विक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल रहेका छन्।

राईले दल दर्ताका लागि निवेदन दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

यसअघि कलम चिन्हबाट गत जेठ ६ गते बागमती प्रदेश अन्यतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्य पदमा संघीयताविज्ञ खिमलाल देवकोटा निर्वाचित भएका थिए। उनले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराएका थिए।

एमाले भित्रको विवाद बढेपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहित ११ जनालाई स्पष्टिकरण सोधेका छन्।

 

प्रतिक्रिया