एमाले फुट्यो, माधव नेपाल नेतृत्वमा नयाँ पार्टी दर्ता गर्ने निर्णय


काठमाडौं– प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टिकरण सोधेका नेता माधवकुमार नेपाललगायत ११ सहित एउटा ठूलो पंक्तिले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको छ।

यो निर्णयसँगै एमाले फुटेको छ भने औपचारिक घोषणा मात्र बाँकी रहेको छ।

नेपाल समूहलाई सहयोग गर्ने स्थायी कमिटीका सदस्यसहितको बैठकले एमालेमा मिल्न नदिनका लागि ओली अग्रसर भएको, प्रतिनिधि सभा विघटन गरी संविधान कुल्चिएर हिँडेका कारण नयाँ पार्टी दर्ता गरी प्रतिवादनमा उत्रिने निर्णय भएको हो।

‘हामीसँग अरु विकल्प नभएपछि नयाँ पार्टी दर्ता गर्ने निर्णयमा पुगेका छौं। यस विषयमा अन्य हिसाबले पनि छलफल जारी छन्’, नेता नेपालले भनेका छन्,‘एमालेमा रहन सक्ने अबस्था आएन।’

नेपाल पक्षको उच्च स्रोतका अनुसार पार्टीको नामका विषयमा टुंगो लगाउन आफू पक्षीय केन्द्रीय कमिटीको बैठक राखिने भएको छ। केही महिना अघि विभिन्न जिल्लामा समानान्तर गतिविधि र कमिटी गठन गरेको नेपाल समूहले सोहीलाई नयाँ पार्टीका जिल्ला र प्रदेश तहका कमिटी कायम गर्ने भएको छ।

‘नेपालको कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउनका लागि यस्तो निर्णयमा पुगका हौं, अब बृहत एकीकृत कम्युनिस्ट गठबन्धनका लागि पनि हामी मोर्चा कस्नेछौं’, नेपालले भनेका छन्।

२३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताएको थियो। अदालतको फैसलासँगै एमालेभित्र अन्तरविरोध चुलिएको थियो।

प्रतिक्रिया