यसकारण विपक्षीको काँध चढेर माधव नेपाल प्रधानमन्त्रीका उम्मेदवार बन्ने छैनन्


काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र र जसपा उपेन्द्र यादव समूहले एमाले नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री पदको उम्मेदवार बनाउने प्रस्ताव गरेका विवरण सतहमा आएका छन्।

विपक्षी गठबन्धनको बैठकमा पुगेका उनले आफू पक्षीय सांसदसँग यस विषयमा सिंहदरबारमा कुराकानी समेत गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आज मध्यान्न ५ बजेसम्मको समयसीमा दिएर धारा ७६(५) अनुसार प्रधानमन्त्रीको सिफारिस ल्याउन सदनमा रहेका दलहरूलाई आह्वान गरेकी थिइन्।

विपक्षीको काँध चढेर नेता नेपाल प्रधानमन्त्रीका उम्मेदवार नबने पर्याप्त कारण छन्।

उता विपक्षीलगायत विभिन्न पक्षका बैठक चलिरहेका बेला बालुवाटारमा प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गरेका थिए। सो क्रममा पार्टीको नीतिविपरित हिँड्ने नेता नेपाललगायतलाई उचित कारबाही हुन सक्ने संकेत गरेका थिए।

यदि नेता नेपाललाई प्रधानमन्त्रीका उम्मेदवारका रुपमा पर्याप्त आधारसहित राष्ट्रपतिसमक्ष सिफारिस गरिए पनि उनी नियुक्ति होलान् तर त्यसपछि जटिल अवस्था आउनेछ।

उनी प्रधानमन्त्रीका उम्मेदवार बन्नका लागि एमाले विभाजन नगरी असम्भवप्रायः छ। यदि बनि हालेको खण्डमा उनलाई पार्टी हितविपरित काम गरेको भनी सांसद पदबाट निलम्बन गर्न सक्ने अधिकार ओलीसँग छ।

हालै मात्र स्थायी कमिटीको बैठकले ओलीलाई ति असीमित अधिकार दिएको छ। त्यो खतराबारे नेपाल पर्याप्त रुपमा जानकार छन्। यसकारण ओलीलाई कमजोर बनाउन उनीलगायतले राजीनामा दिनुको अर्को विकल्प छैन।

राजीनामा दिए पनि विपक्षी गठबन्धनलाई प्रधानमन्त्री दाबी गर्ने र विश्वासको मत लिन कठिन हुनेछ। किनभने शुक्रबारै जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले ओलीमार्फत नै आफ्ना मुद्दा सम्बोधन हुन सक्ने निक्र्यौल निकालिसकेका छन्।

अब के होला? उच्च स्रोतले भन्यो,‘नेता नेपालसँग अन्य विकल्प छैनन्। प्रतिपक्षी दलसँग पनि खासै विकल्प छैनन्। नैतिक रुपमा पनि संकट पर्न सक्छ।’

प्रतिक्रिया