सके विकल्पमा सरकार बनाऊ, मेरो च्वाइसको विकल्प आफैं हुँः प्रधानमन्त्री ओली

संविधानको धारा ७६ (५)मा जानैपर्ने भएपछि सिफारिस गरियो


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले छलेर सरकार जोगाउनका लागि संविधानको धारा ७६(५) अनुसार विकल्पका लागि सिफारिस नगरिएको बताएका छन्। उनले सके विकल्पमा अर्को सरकार बनाउन चुनौति दिँदै भने,‘मेरो विकल्प त मेरो च्वाइस म आफैं हुँ।’

शुक्रबार पत्रकार सम्मेलन गरी उनले आगामी बजेट ल्याउने सरकारका लागि मार्ग प्रशस्त गर्नका निम्ति उक्त सिफारिस गरेको दाबी गरेका छन्। नयाँ सरकार आउने र सरकार चलाउन सक्ने अवस्था नदेखेको बताएका उनले भने,‘संवैधानिक प्रक्रियाबाट अगाडि बढ्नुपर्ने अवस्था अस्वस्थ्य खेल भइरहने भएपछि सिफारिस गरियो।’

उनले नेता माधवकुमार नेपाल पक्षलाई मिर्जाफर र मिर कासीमहरुको संज्ञा दिँदै भने,‘विश्वास प्राप्त नहोस् भनी त्यसो गरियो, विश्वास प्राप्त भएन। फेरि विकल्प पनि दिन नसक्ने। अर्को सरकार पनि बनाउन नसक्नेहरुले भने ‘पाउँदिन भन्ने थाहा थियो, किन आएको? भनेका थिए।’

प्रमुख प्रतिपक्षी कांग्रेस बाहेकका दलले विश्वासको मत लिन नैतिक हिसाबले आउन मिल्दैन भनेको स्मरण गर्दै उनले भने,‘मैले चाहेर होइन, संविधानले फेरि मलाई प्रधानमन्त्री बन्ने अवसर दियो। ७६(३)को सरकार बनाइयो। तर मलाई थाहा छ, अस्ति भर्खर अविश्वासको प्रस्ताव राख्ने अवस्थामा विपक्षी दल छैनन्।’

माधव नेपाल पक्ष अनुपस्थित भएको विषयलाई उल्लेख गरेका उनले भने,‘अर्को सरकार पनि बनेन, अलोकतान्त्रिक हिसाबले ह्विपको उल्लंघन गराइयो।’

विश्वासको मत पाउँदिन भन्ने थाहा पाउँदा पाउँदै बजेट प्रभावित बनाउन नसक्ने भएपछि मार्ग प्रशस्त गरिदिएको बताउँदै उनले भने,‘यसमा षडयन्त्र कहाँ भयो?’

एक दिनको समय दिँदा थोर भयो भन्ने टिप्पणीप्रति कटाक्ष गर्दै भने,‘अढाई महिना कम भयो? तीन दिनको समय के भयो? दिनभरीमा दलहरु मिलेर गए भयो, वैकल्पिक सरकार भएमा म स्वागत गर्छु। वैकल्पिक सरकार बनाउनुहोस् मेरो रचनात्मक सहयोग हुनेछ।’

उनले भने,‘सरकार बनाउनुहोस् सहयोग गर्छु। सक्नुहुन्न भने मलाई समर्थन गर्नुहोस्, सहयात्रा गरौं। नत्र कसले संसद विघटन गर्न खोज्यो? आउनुहोस् महामारीका बेला मिलेर लडौं।’

उनले आज विहान कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेको उल्लेख गर्दै भने,‘तपाईहरु सरकार बनाउनुहोस् भनें। होइन आउनुहोस् मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं। तपाईहरु राष्ट्रिय राजनीतिलाई खराब बाटोतिर जाने काम नगर्नुस्, विकल्प पनि ल्याउनुहोस्।’

वैकल्पिक सरकार बनाउन छाड्दा पनि संविधानमाथि थिचोमिचो हुन्छ? भन्दै प्रश्न गरेका उनले भने,‘म विश्वासको मत लिन्न, लिएपछि हार्छु। संविधानको धारा ७६(५)मा नै जाने हो। त्यसो भए जाऔं त्यहिँ भन्नु यो संविधानविरुद्ध र आजको आवश्यकताका विरुद्ध हुन्छ?’

उनले अहिलेका सरकार विरोधीलाई एकजुट भएर सरकार बनाउनेलाई बाटो खोलिदिएको दाबी गर्दै भने,‘विकल्पमा अर्को सरकार बने हामी रचनात्मक सहयोग गर्छौं भनेका छौं।’

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पनि ओलीले कटाक्ष गर्दै भने,‘मैले शपथ लिँदा प्रतिगमन भयो भनियो। ति मान्छेले लोकतन्त्र सिकाउने? जो लोकतन्त्रको विरोधमा हिँडे, बल्ल बल्ल यसमा ल्याइयो।’

प्रतिक्रिया