

जसपा संसदीय दलपछि यादव पक्षसँग ठाकुरको वार्ता, यस्तो आउन सक्छ निर्णय

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो पक्षको संसदीय दलको बैठक जारी छ। यो बैठक सकिनासाथ उपेन्द्र यादव पक्षसँग ठाकुर पक्षको वार्ता हुनेछ।
५ बजेभित्र राजनीतिक निकासका लागि जसपा तयार हुने क्रममा छ। अध्यक्ष ठाकुरले भनेका छन्,‘हामी निकास दिनेछौं।’ तर त्यो निकास कस्तो हुनेछ भन्नेचाहिँ उनले व्याख्या गरेका छैनन्।
उच्च स्रोतका अनुसार ठाकुर पक्षले यादव पक्षलाई सरकारको नेतृत्वमा कांग्रेस र माओवादी केन्द्रले सहयोग गर्ने अवस्था नआए तटस्थ बस्नुपर्ने निर्णयमा हस्ताक्षर गर्न बाध्यकारी बनाउनेछ।
जसपा तटस्थ बस्ने औपचारिक हस्ताक्षरसहितको निर्णय भएको खण्डमा ओली नै प्रधानमन्त्रीमा नियुक्त हुनेछन् र विश्वासको मत नपाए प्रतिनिधि सभा विघटन निश्चितप्रायः छ।

