राष्ट्रियसभा चुनाव : नेता नेपालसँगको भेटपछि बढ्यो ‘बादल’ले जित्ने सम्भावना


काठमाडौं – राष्ट्रियसभाको उपनिर्वाचनमा उम्मेदवार रहेका रामबहादुर थापा ‘बादल’ लाई नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाले सहयोग गर्ने बताएका छन् ।

वागमती प्रदेशका लागि हुन गइरहेको उपनिर्वाचन नजिकिँदै गहिरहेका बेला नेता नेपाललाई भेट्न थापा बिहान कोटेश्वर पुगेका थिए । बादलका प्रेस संयोजक किरण भट्टराईले एक विज्ञप्ति जारी गर्दै निर्वाचनमा आफ्नो पूर्णसहयोग रहने बताएको उल्लेख गरेका छन् ।

‘नेकपा ९एमाले० का वरिष्ठ नेता माधवकुमार नेपाल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बीच आज नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको छ,’ भट्टराईले लेखेका छन्, ‘ भेटवार्ता पार्टीको आन्तरिक विषय र यही जेठ ६ गते हुन गइरहेको राष्ट्रियसभाको उपनिर्वाचनको विषयमा केन्द्रित रहेको थियो । भेटमा नेता नेपालले राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार रहनुभएका गृहमन्त्री बादललाई आफ्नो पूर्ण सहयोग रहने बताउनुभएको गृहमन्त्री बादलले जानकारी दिनुभयो । भेट सकारात्मक रहेको उहाँको भनाइ छ ।’

पार्टी विवाद समाधानका लागि संस्थापन पक्षसँग संवाद शुरू हुनुअघि नेपाल पक्षले नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका विपक्षीसँग मिलेर खिमलाल देवकोटालाई उम्मेदवारका रुपमा अगाडि सारेको थियो ।

तर एमाले एक भएको खण्डमा बादलले जित्ने निश्चित छ । पछिल्लो समय संस्थापन पक्षसँग वार्तामा रहेको नेपाल पक्ष राष्ट्रियसभाको उपनिर्वाचनमा कसको पक्षमा उभिने भने विषय प्रष्ट पारेको छैन ।

त्यस्तै एमालेका उम्मेदवार बादलका पक्षमा मतदान गर्न महासचिव ईश्वर पोखरेलले प्रदेशसभा सदस्य र स्थानीय निकायका प्रमुख, उपप्रमुखलाई ह्वीप जारी गरिसकेका छन् ।

प्रतिक्रिया