

चार्टर फ्लाइटका नाममा लुटतन्त्रः हिमालय एयरमा साउदी अरबकै एकतर्फी भाडा १ लाख ८२ हजार

काठमाडौँ– साउदी अरब फर्किने कामदारका लागि चार्टर फ्लाइटका नाममा लुटतन्त्र मच्चाएको प्रमाण फेला परेको छ। कोरोना महामारीका कारण सबै अन्तर्राष्ट्रिय उडान बन्द गराइए पनि चार्टर गर्न दिइने सरकारी निर्णय छ।
श्रम गन्तब्य मुलुक फर्किन बाध्य रहेका नेपालीका लागि एकतर्फी भाडा नै एक लाख ८२ हजारसम्म हिमालय एयरलाइन्समा मात्रै छ।
मंगलबारका लागि साउदीको दमामसम्म टिकट काटेका रमेश पौडेलले हिमालय एयरलाइन्समा एक लाख ८२ हजारमा टिकट खरिद गरेका हुन्। ग्राहकका अनुसार अन्य समयमा २७ हजारमा नै दमामसम्म काठमाडौंबाट पुगिन्छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतीय दुतावासको आग्रहमा काठमाडौंदेखि साउदीको रियाद र जेद्धासम्म चार्टर अनुमति नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई दिइएको छ।
अन्यबेला ३० देखि ५० हजारसम्म हुने टिकट मुल्य चार्टरका नाममा ५ गुणा बढाइएको छ। हिमालय एयरलाइन्सले यसरी टिकट विक्रि गरेको खुलेको छ। यात्रुले बुकिङका गर्ने क्रममा हिमालय एयरलाइन्सको भाडादर सार्वजनिक भएको हो।
साउदी अरबले विहीबारपछि मुलुक छिर्नेलाई अनिवार्य क्वारेन्टाइन बस्नुपर्नेसहित एक हजार डलर रकम तोकेको छ। तर त्यसअघि जाने यात्रुलाई यसरी हिमालय एयरलाइन्सले ठगी गरिरहेको पाइएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीनिकट व्यावसायीको हिमालय एयरलाइन्सलाई मनभरी भाडा उठाउन दिनुको कारणलाई पर्यटन मन्त्रालय स्वभाविक हुने प्रतिक्रिया दिन्छ। तैपनि यत्ति धेरै महँगो हुनुलाई मन्त्रालयले नोटिसमा राख्ने बताइएको छ।

