

म पार्टी फुट्न दिन्नँः प्रधानमन्त्री

काठमाडौं– पुष्पकमल दाहाल प्रचण्डले सरकारमा समानान्तर अधिकार दाबी गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेको अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले खुलाएका छन्।
कतिपय ठाउँमा नामै लिएर र कतिपय ठाउँमा सांकेतिक रुपमा प्रधानमन्त्री ओलीले प्रचण्डले सरकारका नियुक्तिदेखि अनेक ठाउँमा हस्तक्षेप गर्न खोजेको खुलाए।
मन्त्रीदेखि अनेक नियुक्तिमा योग्यताका आधारमा आफूले ध्यान दिएको तर साथीहरूलाई आफ्ना मान्छे राखिदिनुपर्ने भन्ने दबाब हुने गरेको प्रधानमन्त्री ओलीले खुलाएका छन्। उनले त्यसरी नमान्दा विविध प्रकारका गुटगत भेला गरी सरकार असफल बनाउने कोशीश समेत भएको संकेत गरेका हुन्।
एपी वान टेलिभिजनको तमसोमा ज्योतिर्गमय कार्यक्रमका लागि अन्तरवार्ता दिने क्रममा प्रधानमन्त्री ओलीले आफू पार्टीको प्रथम अध्यक्ष भएकाले पार्टी विभाजन हुन नदिने दाबी गरे। उनले पार्टी फुट्न नदिने दाबीलाई अन्त्यमा पनि दोहोराएका थिए।
पार्टीमा गुटगत भेला गरी त्यसको निर्णय बोकेर बैठकको माग राख्नु नाजायज काम भएको बताएका उनले प्रक्रियाअनुसार दुई अध्यक्षको सल्लाह र कमिटीको बैठक हुनुपर्ने जोड दिए।
कर्णाली प्रदेशको विवादबारे आफूलाई दोष देखाइएको खण्डन गर्दै त्यसबारे पूर्वजानकारी नरहेको स्पष्ट पारे, प्रधानमन्त्रीले। यहि कारण देखाएर बदनाम गराउनुको अर्थ ‘रिसाएको बिरालोले खाँवो (खम्बा) तिछोर्नु’मात्र रहेको व्यंग्य प्रधानमन्त्री ओलीले गरेका छन्।
अन्तरवार्ताका दौरान उनले प्रचण्डको आनीबानी र गुटगत भेलाले समस्या ल्याएकोतिर संकेत गरेका थिए। नागरिक तहमा सरकारका विषयमा आलोचना गरिएका कतिपय सन्दर्भको प्रधानमन्त्री ओलीले बचाउ गर्दै पुष्टि गर्ने कोशिश गरेका थिए।

