

प्रधानमन्त्रीबाट पुरानै मन्त्रिमण्डल गठन, बादललाई मन्त्री बन्न आचारसंहिताले छेकेन्

काठमाडौं – उपप्रधानमन्त्री ईश्वर पोखरेलले पद तथा गोपनियताको सपथ लिएका छन्। शीतलनिवासमा आयोजित कार्यक्रमबीच राष्ट्रपति विद्यादेवि भण्डारीले उपप्रधानमन्त्री पदको सपथ खुवाएकी हुन्।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानै मन्त्रिमण्डललाई निरन्तरता दिएका छन्। त्यस्तै, राष्ट्रपति भण्डारीले मन्त्रीहरुलाई समेत सपथ खुवाएकी छिन्।
त्यस्तै नवनियुक्त राज्यमन्त्रीहरुलाई राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्री ओलीले पद तथा गोपनियताको सपथ खुवाएका थिए।
नेकपा एमालेको माधव कुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षलाई सरकारमा सामेल हुन आग्रह गरिए पनि उनीहरु सरकारमा सहभागी भएनन्।
प्रधानमन्त्री ओलीले सांसदै नरहेका पूर्वमाओवादी नेताहरूलाई पनि फेरि मन्त्री बनाएका छन्। जबकी सरकार ढलेपछि गृहमन्त्रीबाट स्वतः पदमुक्त बनेका रामबहादुर थापा ‘बादल’ राष्ट्रियसभा सदस्य पदका उम्मेदवार हुन्।
निर्वाचन आयोगले बिहीबारदेखि निर्वाचन आचारसंहिता लागू हुने घोषणा गरिसकेको छ। यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले थापालाई फेरि गृहमन्त्रीमा नियुक्त गरेका छन्।
२७ वैशाखमा प्रधानमन्त्री ओली पदमुक्त भएसँगै बादलको मन्त्री पद स्वतः गुमेको थियो।
यस्तो अवस्थामा थापालाई फेरि गृहमन्त्रीमा नियुक्त गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न उब्जिएको थियो। आचारसंहिता लागू भइसकेपछि उम्मेदवारलाई मन्त्री पदमा नियुक्त गर्न नमिल्ने कानुनविद्हरुको भनाइ छ।
माओवादी केन्द्रको कोटाबाट राष्ट्रियसभा सदस्य बनेका बादल नेकपा एमालेमा प्रवेश गरेपछि उनलाई माओवादीले कारबाही गरेपछि उनको पद स्वतः गुमेको थियो। उनकै रिक्त रहेको ठाउँमा आगामी ६ जेठमा उपनिर्वाचन हुँदैछ।
यसअघि अल्पमतको प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका थिए। प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति भण्डारीले दलहरूलाई बहुमत पुर्याएर दाबी पेश गर्न तीन दिनको समय दिएकी थिइन्।
विहीबार राति ९ बजेसम्म दिइएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत पु¥याउन नसकेपछि राति १० बजे राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन्।

