

प्रधानमन्त्री ओलीले लिए सपथ, ३० दिनभित्र फेरि विश्वासको मत लिनुपर्ने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएका छन्। शीतल निवासमा आयोजित समारोहमा ओलीले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन्।
राष्ट्रपति भण्डारीले बिहीबार राति संविधानको धारा ७६ को उपधारा ३ अनुसार संसदको ठूलो दलको नेताको हैसियतमा नेकपा एमालेका अध्यक्ष रहेका ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।
नवनिर्वाचित प्रधानमन्त्री ओलीले जनताका नाममा सपथ लिए।
२७ वैशाखमा प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत नयाँ सरकार गठनका लागि दलहरुलाई दिएको समयसीमा सकिएपछि ओलीलाई अल्पमतको सरकार गठन गर्ने गरी प्रधानमन्त्री नियुक्त गरेकी हुन्।
राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनको लागि ३० गते राति ९ बजेसम्मको समयसीमा दिएकी थिइन्। उक्त समयसम्म बुहमतसहितको नयाँ सरकार गठनको लागि कसैले दाबी नगरेपछि ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।
प्रधानमन्त्रीमा पुनः नियुक्त भएका ओलीले ३० दिनभित्र फेरी विश्वासको मत लिनुपर्ने हुन्छ।
यस्तै समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त उपप्रधानमन्त्री ईश्वर पोखरेललाई समेत पद तथा गोपनियताको सपथ खुवाएकी थिइन्।

