एमालेमा ओलीको एउटा निर्णयले नेपाल पक्षलाई विभाजित बनाउने प्रक्षेपण


काठमाडौं– प्रतिनिधि सभा सदस्यबाट आवश्यक सांसद संख्याले राजीनामा दिने प्रतिपक्षी गठबन्धनसँग सहमति गरेका माधवकुमार नेपाल पक्षलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा निर्णयले विभाजित बनाउने अनुमान गरिएको छ।

विहीबार बिहान स्थायी कमिटीको बैठक राखी नेपाललगायत चार जना नेतालाई गरिएको निलम्बन फुकुवाको निर्णय गरेपछि ओली र एमालेलाई सघाउनुपर्ने नेपाल पक्षभित्र सघन बहस सुरु हुने भएको छ।

नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि ६ महिनासम्म पार्टी सदस्य नरहने निलम्बन गरिएको थियो। उक्त निर्णय फिर्ता लिएपछि नेपाल, रावल ओलीप्रति नरम नभए पनि पाण्डे, भुसाललगायतका अन्य तहका नेता भने राजीनामा गरी विपक्षी गठबन्धनलाई सघाउन तयार नहुने प्रक्षेपण गरिएको छ।

नेपाल पक्षका दोस्रो तहका नेता तथा सांसदहरू यसै पनि राजीनामा दिने पक्षमा थिएनन्। ओलीको यो निर्णयले उनीहरुलाई आफ्ना अडानमा कायम रहनका लागि बल पुगेको अनुमान गरिएको छ।

नेपाल पक्षमा रहेका गोकर्ण विष्ट, योगेश भट्टराईलगायतका नेता राजीनामा दिने पक्षमा नजाने स्पष्ट खाका बनाउन ओलीको यो निर्णयले सहयोग गरेको एक नेताले जानकारी दिए।

यस्तो निर्णय गराउनका लागि अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतको भूमिका प्रभावकारी बनेको थियो। ओली पक्षले पार्टीको बृहत्तर एकता बचाउनका लागि उक्त निर्णय गरिएको जनाएको छ।

‘अब एकता जोगाउनका लागि म ब्याक भएँ तर असहयोग गरेको खण्डमा विभाजनका पक्षमा नेता नेपाल नै सक्रिय रहेको भन्ने तल्लो तहसम्मलाई कन्भिन्स गर्ने ओलीसँग क्षमता भयो’, एक नेता भन्छन्,‘नेता नेपाल अझै पनि राजीनामा दिएर कांग्रेस, माओवादी गठबन्धनलाई सहयोग गर्न तयार भए एमाले कार्यकर्ताको मनोभावना रुष्ट हुनेछ।’

यसै पनि नेपाल पक्षका कतिपय सांसदले राजीनामा नदिने बताएका थिए। सोही विवाद रहेका कारण ओलीले विश्वासको मत लिने क्रममा राजीनामाको साटो सदनमा अनुपस्थित हुने मात्र निर्णय गरिएको थियो।

प्रतिक्रिया