बालुवाटारमा लामो बैठकपछि शीतल निवास पुगेका ठाकुर–महतो यसो भनेर फर्किए


काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा लामो समय वार्ता गरेका छन्।

वार्तामा विपक्षी गठबन्धनलाई कसैगरी पनि बहुमत पुग्न नदिने विषयमा कुराकानी भएको थियो। मधेसका माग पूरा गर्दै जाने बताएका प्रधानमन्त्री ओलीले तटस्थ बस्न र त्यसमा सांसदको संख्या बढाउनका लागि आग्रह गरेको स्रोतको दाबी छ।

बालुवाटारबाट निस्कनासाथ ठाकुर र महतो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए। शीतल निवासमा उनीहरूले जसपाको आधिकारिकता आफूहरुसँग रहेको, पहिलो अध्यक्ष महन्थ ठाकुर भएका कारण उपेन्द्र यादव र डा.बाबुराम भट्टराईलाई वैधता नदिन भनेका थिए।

शीतल निवासमा भने लामो समयसम्म नबसेका उनीहरु पदाधिकारी बैठकको तयारीका साथै आफूनिकट सांसदसँग ब्रिफिङको तयारीमा छन्।

नयाँ सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको तीन दिनको समयसीमा विहीबार राती ९ बजे सकिनेछ।

प्रतिक्रिया