

नेपाल सुपर लिग : काठमाडौंमाथि जित निकाल्दै धनगढी फाइनलमा

काठमाडौं – धनगढी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको पहिलो प्लेअफमा काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै धनगढी फाइनल पुगेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन पुजन उपरकोटी र विशाल राईले एक एक गोल गरे। काठमाडौंका तेज तामाङले एक गोल फर्काए। खेलको निर्धारित ९० मिनेटको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो।
अतिरिक्त समयमा मार्की खेलाडी विशाल चम्किएपछि धनगढी फाइनल पुगेको हो। खेलको १ सय ८ औं मिनेटमा रमेश दंगालको पासमा अनमार्क रहेका विशालले गोल गर्दै टिमलाई फाइनलको यात्रा तय गराए।त्यसअघि खेलको ७५ औं मिनेटमा तेज तामाङले गोल गर्दै काठमाडौंलाई १-० को अग्रता दिलाएका थिए।
मेसौकेको क्रसमा तेजले वन टचमा गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन्। तर, खेलको ७८ औं मिनेटमा पुजन उपरकोटीको गोलबाट धनगढीले बराबरी गोल फर्काएको थियो । फ्रान्कलिनको हेडर पासमा काठमाडौंका गोलकिपर विकेश कुथु अगाडी बढेको फाइदा उठाउदै पुजनले उत्कृष्ट बाइसाइकल गोल गरे ।

