नवविवाहित जोडीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सहयोग


काठमाडौं – कोरोनाको महामारीमा विवाह गरेका नवविवाहित दाङ घोराहीको एक जोडीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेको छ।

नवविवाहित जोडी घोराही उपमहानगरपालिका–१८ नवलपुर निवासी अविनाश राना र सिर्जना राना कुँवरले आफ्नो विवाह खर्च कटाएरकोरोना महामारीको बेला अक्सिजन नपाई बिरामीको उपचारमा समस्या भएपछि ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन्।

विवाह खर्च कटाइ सकेको रकम अक्सिजन खरिदका लागि पैसा सहयोग गर्न पाउँदा आफूहरु अत्यन्तै खुसी भएको र समाजमा सकारात्मक शन्देस प्रवाहसहित सामाजिक उत्तरदायीत्व बहन गर्दै सो रकम सहयोग गरेको उनीहरुको भनाइ छ।

राना र कुँवरको केहीदिन पहिले कोरोना महामारीमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ विवाह भएको थियो। नवविवाहित जोडीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारी, अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेत, कामु रजिस्ट्रार झंकार लामिछानेलाई ५१ हजारको चेक हस्तान्तरण गरेका हुन्।

उपकुलपति भण्डारिले कोरोना महामारीमा आफ्नो विवाह खर्च कटाएर अक्सिजन सिलिन्डर खरिदका लागि प्रतिष्ठानलाई सहयोग गरेकोमा धन्यवाद दिँदै वैवाहिक बन्धनमा बाँधिएकोमा सफल दाम्पत्य जीवनको बधार्इ तथा शुभकामना दिइन्।

सो अवसरमा दाङ उबासंघका पूर्वजिल्ला अध्यक्ष नारायण भुसाल, पूर्वअध्यक्ष हेमराज बन्जाडे, संघका उपाध्यक्ष रामप्रसाद पोख्रेल, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष सबिन प्रियासनसहितको उपस्थितिरहेको थियो।

आर्थिक सहयोग गर्ने नवविवाहित जोडी दाङ निर्माण व्यवसायी संघका कार्यसमिती सदस्य राना नेपाल निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बलिभद्र राना र अनिता रानाको छोरा र बुहारी हुन्।

प्रतिक्रिया