

यातायातमा डा. सेनको कर्तुत, ४ रुपैयाँमा सम्झौता ३५ असुली

डाक्टरदेखी हाकिम र दलालसम्मको यस्तो छ ठगीधन्दा, मारमा सेवाग्राही
ललितपुर – यातायात व्यवस्था कार्यालय एकान्तकुनालाई भ्रष्टाचारको अखडाका रुपमा लिइन्छ । भ्रष्टाचार गर्न र घुस खाने कर्मचारी एकान्तकुना जानलाई तछाड–मछाड गर्ने गर्छन् । त्यहाँ खुल्लमखुल्ला घुसको बार्गेनिङ हुने त्यहाँ जाने सेवाग्राहीले भोग्नु परेको तीतो यथार्थ हो यो ।
सेवाबापत लिने घुस मात्र होइन, नीतिगत रुपमै कार्यालयमा भ्रष्टाचार हुँदै आएको प्रमाण अनलाईनन्यूज सेभेन ले फेला पारेको छ । यातायात व्यवस्था कार्यालय एकान्तकुनाले गत ०७ साउनमा नियमसंगत रुपमा स्वास्थ्य परिक्षणसम्बन्धी सिलबन्दी प्रस्ताव आह्वान गरेको थियो । उक्त प्रस्तावमा १४ वटा योग्यता पुगेका चिकित्सकको फर्मले टेण्डर बिट गरेको थियो । जसमा एक रुपैयाँदेखि १३ रुपैयाँ ७५ पैसासम्ममा स्वास्थ्य परिक्षण गर्ने भन्दै टेण्डर बिट भयो । डाक्टर सुजाता बज्राचार्यले एक रुपैयाँमा आफू स्वास्थ्य परिक्षण गर्ने भन्दै टेण्डर ‘बिट गरेकी थिइन् ।
तर, नियमअनुसार कम मूल्याकंनसँग सम्झौता बिट गर्नुपर्ने यातायात कार्यालयले सेटिङमा दोस्रो नम्बरमा परेको डाक्टर चन्द्र सेनसँग सम्झौता गरेको थियो । तर डा. सेनले सम्झौता गरेको रकमभन्दा दश गुणा बढी रकम अहिले सेवाग्राहीसँग असुल्दै आएको प्रमाण फेला परेको हो ।
खुलेआम रुपमा असुली धन्दा चलाउने डा. सेनलाई यातायात कार्यालयका समर बहादुर कार्कीको संरक्षण रहेको आरोप त्यहाँका कर्मचारीले जनाएका छन् । कार्कीकै निगाहामा उनले टेण्डर हातमात्र पारेनन्, अहिले दश गुणा बढी शुल्क सेवाग्राहीसँग असुल्दै समेत आइरहेका छन् ।
४ रुपैयाँ २९ पैसामा सम्झौता गरेका डा. सेनले अहिले ३५ रुपैयाँको शुल्क असुल्दै आएका हुन् । डा. सेनलाई लेखापढी व्यावसायी बालकुमार देबकोटाले सेटिङ गरेर टेण्डर लिएको अन्य व्यवसायीको आरोप छ । यस बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी गर्न अन्य डाक्टरले तयारी गरेको स्रोतले जनाएको छ ।

