संघर्षरत छोराले आमालाई लेखेको चिठी!


आदरणीय आमा! हजुरको जेठो छोराको सेवाढोग।

म याहाँ आराम छु र सोही कामना गर्दछु।

विशेष लेखनिय खबर त केही छैन, तर यादले अन्य दिनहरुभन्दा आज अलि बढी नै पछ्यारहेकाले हजुरलाई समर्पण गर्दै केही मनोवाद ओकल्न लागिरहेको छु।

आमा हजुरको आशिर्वाद र आफ्नो सपनालाई शिरोपर गर्दै धेरै मानवहरु भएको तर मानवता बिल्कुलै नभएको यो शहरमा त्यस्तै आरोपबाट मुछिनका लागि आएको पनि लगभग ७ वर्ष हुन लागेछ।

आमा! समय, परिवेश, परिस्थिति, कर्म र संघर्षले सँगैका सहयात्रीहरु कोही जागिरे छन, कोही विदेशिएका छन, कोही व्यापार व्यवसाय चलाएर राम्रै व्यवस्था गरेका छन्। यो देख्दादेख्दै आफ्नो छोरो अझैसम्म बेगारी भएर बसिरहेको सम्झँदा मेरी आमाको मुटु कति अमिलिन्छ होला कठै!

खाँचो त छैन आमालाई तर अरुका छोराहरुले आमालाई भनेर ल्याइदिएको साडी–चोलो, गरगहना, कोसेली अझ भनौ मेरो छोराको पौरख भनेर कसैले देखाइरहँदा पक्कै हजुरको छोरालाई सम्झनुहुन्छ होला र मनमनै हे प्रभु मेरा छोरालाई पनि केही पौरख गर्ने बनाइदेउ मलाई त कोसेली चाहिन्नथ्यो उनीहरुको भविष्य राम्रो भए हुन्थ्यो भनेर पुकार गर्नुहुन्छ होला।

घाँस काट्दै गर्दा, भकारो सोहोर्दै गर्दा, वस्तु चराउँदै गर्दा र कोदालो चलाउँदै गर्दा थकित भएर पसिना काढ्दै खुई…ई…ई…गरेर लामो श्वास फाल्दै गर्दा कल्पना गर्नुहुन्छ होला अब मेरो छोराले इलम गरेपछि यस्ता दिनहरु भोग्नुपर्दैन। अलि दिनमा त केही गर्छ होलानी भन्दै त्यही आडमा जोस्सिएर आफ्नो मेलो टुङ्ग्याउनुहुन्छ होला र यसरी नै हजुरको दिनचर्या बितिरहेका होलान्।

आमा! हजुरको छोरो पनि हजुरले गरेका जस्तै कल्पनाको सागरमा हरपल पौडिँदै हजुरको कल्पनालाई साकार पार्नका लागि संघर्षरत नै छ। यहाँ थोरै स्वार्थी बने होला तर आमा मैले मेरै उज्ज्वल भविष्यको लागि संघर्ष गर्दै गरेपनि यो हजुरको कल्पनासँग शतप्रतिशत मिल्छ।

आमा! हजुरको छोराले सधैं दिनेजस्तो आश्वासन फेरि पनि दिइरहनेछ। आमा हजुर जसरी आफ्नो मनमा छोराको बारेमा गफ गर्नुहुन्छ एक्लै त्यसैगरी मैले पनि कयौंपटक संवाद गरिरहेको हुन्छु। आमा ढुक्क हुनुस् हजुरको छोराले आफ्नो जिम्मेवारी भुलेर मर्यादा बिर्सिएर बाटो बिराएको छैन।

आफ्नो छोराको बारेमा मनोवाद गर्ने आम आमाहरू प्रायःजसो एक्लै हुन्छन् र आफ्नो बह न आफ्नो छोरासँग पोख्छन् न छिमेकी। यो छोराको मन नदुखोस्, हरेस नखाओस् र अरुको नजरमा कमजोर नहोस् भन्नका खातिर हो आमा मैले बुझेको छु।

म हजुरकै शिक्षादीक्षा र हजुरकै निर्मल र निस्कलंक छायामा हुर्केको छोरा हुँ। त्यसैले हजुरको आत्मबललाई सधैं घमण्डका साथ बढाएर राख्नु भए हुन्छ, यसमा आँच आउने किसिमको अनैतिक कार्य म बाट हुने छैन।

आमा! हजुर भोकै हुनुहुन्छ कि केही खानुभएको छ? हजुरको छोरालाई भनेर जोगाउँदै भोको नबस्नुहोला, हजुरको छोरो कहिल्यै भोको छैन, यहाँहरुको आशिर्वाद लागिरहेको छ त्यसैले आफ्नो स्वास्थको विचार गरेर खाना खानुहोला।

भेडा भेडाकै संगत र बाख्रा बाख्राकै संगत भनेझैं हजुर जस्तै आमाका हजुरको छोरा जस्तै छोराहरुसँग सामिप्यता छ र ती सबै छोराहरु हजुरजस्तै आमाहरूको कल्पनालाई साकार पार्न संघर्षरत छन्।

छोराले सान्त्वना दिने नयाँ हतियार बनाएछ भनेर नबुझीदिनु होला मलाई विश्वास छ त्यसरी बुझ्नुहुने छैन। आमा हजुरले जस्तै कष्ट बेहोर्दै आफ्नो छोरालाई यहाँ पठाउने हरेक आमाले यो धैर्यतालाई सधैं कायम राख्नुपर्छ भन्न चाहान्छु।

संघर्ष गर्दै गर्दा म र मेरा सहयात्री साथीहरू कहिलेकाहिँ छलफल गर्छौं, आमाको बारेमा। त्यसैले हामीलाई मन बुझाउन, नयाँ योजना बनाउन र आमालाई आश्वासन दिन अलि सजिलो पनि छ।

यसलाई सकारात्मक आँखाले हेरिदिनुहोला। हजुर र हजुरजस्ता आमाले बुझिदिनुहोला म जस्ता धेरै आमाहरु र मेरा जस्ता धेरै छोराहरु मेरै जस्तो धैर्य र मेरो छोराको जस्तै संघर्ष गर्न कायम राख्न आवश्यक छ। यदि यो हुन सकेमा कुनै आमाले दुख्नु पर्दैन र कुनै छोराले झुक्नुपर्दैन।

एकदिन हजुरको छोराले हजुरको आँखामा हर्षका आँसु बगाइदिनेछ र छोरो सम्झेर घमण्ड गर्नसक्ने वातावरण सिर्जना गर्ने छ।

आमा! मेरो मनोवादलाई यहिँ बिट मार्न चाहन्छु। पुनः सेवाढोग गर्दै विदा हुन्छु। हवस्त आफ्नो स्वास्थको ख्याल राख्नुहोला।

उही तपाईंको मुटुको धड्कन!
ठूलोभाई!

(पोखरेल प्रहरी निरीक्षक हुन्।)

प्रतिक्रिया