विश्वासको मत नपाए पनि ओली नै प्रधानमन्त्री!


काठमाडौं – प्रधानमन्त्री नियुक्त भएको ३९ महिनापछि दोस्रोपटक संविधानको धारा १०० (१) अनुसार केपी शर्मा ओलीले सोमबार दिउँसो १ बजे प्रतिनिधिसभामा विश्वासको मत परीक्षण गर्दैछन्। विश्वासको मत नपाए पनि प्रधानमन्त्री पदमा रहिरहन उनले नयाँ रणनीति अपनाएका छन्।

विकसित राजनीतिक घटनाक्रम र एमालेभित्रै देखिएको विभाजन हेर्दा ओलीले विश्वासको मत नपाउने लगभग निश्चित छ। नेपाली काँग्रेस, माओवादी, जसपा र पार्टीभित्रकै झलनाथ–माधव समूहका सांसदले मत नदिने भएपछि ओलीले संसदबाट विश्वास गुमाउने भएका हुन्।

प्रतिनिधिसभामा हाल २७१ जना सांसद कामय रहेकोमा विश्वासको मतका लागि १३६ को समर्थन चाहिने भए पनि ओलीले त्यति संख्या नपुर्याउने देखिएको छ। १२१ सांसदसहित ठूलो दल रहेको एमालेको अर्को पक्षका २१ सांसदले राजीनामा दिएर विश्वासको मतलाई विफल गराउन बैठक बस्दैछ।

विश्वासको मत गुमाएको सभामुखले घोषणा गरेपछि ओली प्रधानमन्त्री पदबाट त्यही क्षण पदमुक्त हुनेछन्। तथापि उनको कामचलाउ हैसियत भने बाँकी नै रहनेछ। नेपाल पक्षले राजीनामा दिँदा पनि ओली नेतृत्वको एमालेले संसदको सबैभन्दा ठूलो दलको हैसियत भने गुमाउने छैन।

विश्वासको मत नपाएको अवस्थामा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिने र त्यसलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नै पुनः प्रधानमन्त्री नियुक्ती गर्ने तयारी भइरहेको छ। प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि राजीनामा गर्ने र प्रधानमन्त्रीले राजीनामा दिएपछि गठबन्धन सरकार गठनका लागि राष्ट्रपतिले आग्रह गर्नुपर्ने हुन्छ।

तर त्यसो नगरी सिधै संविधानको धारा ७६ को ३ अनुसार संसदमा सबैभन्दा ठूलो दलको संसदीय दलको नेता प्रधानमन्त्री बन्ने प्रावधान अनुसार राष्ट्रपतिले पुन ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्ने गरी तयारी भइरहेको बताइएको छ। धारा ७६ (३) लाई टेकेर पुन प्रधानमन्त्री बन्ने विषयमा ओलीले राष्ट्रपतिसँग पटक–पटक छलफल गरिसकेका छन्।

विश्वासको मत नपाए पनि ओली नै प्रधानमन्त्री बन्ने नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए। ‘संसदमा बहुमत प्राप्त भएन भने पनि प्रधानमन्त्री ओली संविधान बमोजिम अगाडी बढ्नुहुन्छ,’ उनले भने।

संसदमा आज बहुमत प्राप्त नहुँदा दुई वा सो भन्दा बढी दलको सरकार बन्ने प्रक्रिया अघि बढ्छ। त्यस्तो अवस्था नदेखिएकोले ठूलो पार्टीको अध्यक्षको हैसियतले ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने तयारी छ।

विश्वासको मत प्राप्त भएन भने प्रधानमन्त्रीको पद रिक्त हुन्छ। अर्को प्रधानमन्त्री नआएसम्म त्यही प्रधानमन्त्रीले सरकारको काम गर्ने व्यवस्था छ संविधानमा। त्यसैअनुसार ओली अगाडी बढ्ने नेम्वाङले बताए।

प्रतिक्रिया