माधव–झलनाथ समूहले ओलीलाई दिएको समयसीमा सकियो, सिंहदरबारमा बैठक बस्दै


काठमाडौं – प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिन भन्दै एमालेकै माधव–झलनाथ समूहले दिएको समयसीमा सकिएको छ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टीलाई एकताबद्ध बनाउन ६ बुँदे प्रस्तावसहित सोमबार बिहान ९ बजेसम्मको ‘अल्टिमेटम’ दिएको थियो।

९ बजेसम्म आफ्नो अल्टिमेटम पूरा गरेमा माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा विश्वासको मत दिनसक्ने बताएको थियो।

यद्यपी, सो समयभित्र चित्तबुझ्दो जवाफ नआए सांसद पदबाट राजीनामा दिने माधव–झलनाथ पक्षको चेतावनी छ।

ओली इतर पक्षले पार्टीलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्ने र गत फागुन २८ गतेको निर्णय फिर्ता गर्नुपर्ने बटमलाइन बनाएको छ।

यद्यपि ओली यी दुवै माग पूरा गर्नुपर्ने पक्षमा नभएकाले सहमतिको सम्भावना तत्काल देखिएको छैन्। नेकपा एमाले विभाजनको स्थितिमा पुगेपछि माधव–झलनाथ समूहको बैठक बस्दैछ।

संघीय संसद सचिवालय सिंहदरबारमा बिहान साढे ९ बजे बस्ने बैठकमा सोमबार संघीय संसदमा हुने विश्वासको मतको विषयमा छलफल हुँदैछ। त्यसैले ओलीले आजको संसद बैठकमा विश्वासको मत पाउने सम्भावना देखिएको छैन।

आइतबार पार्टी एकताका लागि भन्दै अध्यक्ष ओलीलाई ६ बुँदे प्रस्ताव पठाएर सोमबार बिहान ९ बजेसम्मको समयसीमा दिएका उनीहरुले थप छलफल गर्न बैठक बस्न लागेका हुन्।

ओलीले सरकार र पार्टीमा एकलौटी गरेको तथा विधिसम्मत ढंगले नचलेको आरोप लगाउँदै माधव–झलनाथ पक्ष उनीविरुद्ध आन्दोलनमै उत्रिएको थियो।

प्रतिक्रिया