कोरोना संक्रमणबाट पोखरामा थप ११ र काभ्रेमा ३ जनाको मृत्यु


पोखरा – पोखरामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पश्चात पोखराका विभिन्न अस्पतालमा भर्ना भएका ११ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

आइतबार पोखराका मणिपाल शिक्षण अस्पताल, मेडिप्लस अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगायतका अस्पतालमा उपचाररत ११ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा।विनोदबिन्दु शर्माले जानकारी दिए ।

उनकाअनुसार मृत्यु हुनेहरुमा पोखरा महानगरपालिका–१७ का ५३ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी रुपन्देहीको सिद्धार्थ नगरपालिका–८ का ६० वर्षीय पुरुषको पनि पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बैशाख २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्याङजाको वालिङ नगरपालिका–३ का ४५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा वैशाख २१ गते संक्रमण भेटिएको थियो ।

त्यसैगरी पोखरा महानगरपालिका– ९ की ३१ वर्षीय महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको मेडिप्लस अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ती महिलामा यही बैशाख १८ गते संक्रमण देखिएको थियो ।

यस्तै म्याग्दी जिल्लाको मालिका गाउँपालिका –५ का ५८ वर्षीय पुरुषको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा यही बैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्याङजा गल्याङ नगरपालिका –३ की ६० वर्षीय महिलाको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बैशाख २० गते कोरोना संक्रमण देखिएको थियो ।

यस्तै पोखरा महानगरपालिका–२ की ५८ वर्षीय महिलाको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा वैशाख २३ गते संक्रमण पुष्टि भएको थियो । त्यसैगरी पोखरा महानगरपालिका–२७ का ५२ वर्षीय पुरुषको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उनमा वैशाख २३ मा कोरोना संक्रमण देखिएको थियो ।

त्यसैगरी पोखरा महानगरपालिका–१९ का ५८ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बैशाख २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैगरी पोखरा महानगरपालिका १२ की ३५ वर्षीय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बैशाख १६ मा कोरोना संक्रमण देखिएको थियो ।

त्यस्तै पर्वत जिल्लाको कुश्मा नगरपालिका १३ का ४२ वर्षीय पुरुषको समेत उपचारका क्रममा पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा यही बैशाख २१ गते कोरोना देखिएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६२ पुगेको छ ।

कोरोना संक्रमणबाट काभ्रेमा ३ जनाको मृत्यु
कोरोना भाइरस संक्रमणबाट काभ्रेमा थप ३ जनाको मृत्यु भएको छ । आइतबार बिहान ३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । संक्रमणबाट मृत्यु हुनेमा बनेपा नगरपालिका–६ बस्ने ४२ वर्षीय महिला छिन् ।

बनेपास्थित शिर मेमोरियल अस्पतालमा ७६ वर्षीय महिला र पनौती नगरपालिका–११ मा होम आइसोलेशनमा बसेका २७ वर्षीय युवकको मृत्यु भएको छ । काभ्रेमा हिजो धुलिखेल नगरपालिका बस्ने ५६ वर्षीय पुरुषसहित ३ जनाले ज्यान गुमाएका थिए ।

 

प्रतिक्रिया