

देउवाको दैलोमा ठाकुर र महतो
ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता नगर्ने निर्णय गरेको कांग्रेसलाई तटस्थ बस्नुपर्ने राय

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिने पूर्वसन्ध्यामा निर्णायक रहेको जसपाका अध्यक्ष ठाकुर र महतो देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका हुन्।
जसपामा ठाकुर र महतो प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनुपर्ने पक्षमा रहेका छन्। उता अर्का अध्यक्ष उपेन्द्र यादवले पनि देउवालाई भेट गरेका थिए। यादव भने ओलीको विपक्षमा उभिएका छन्।
यसअघि शनिबार संसदीय दलको बैठकमा कांग्रेसले प्रधानमन्त्री ओलीलाई समर्थन नगर्नेसहित तत्काल अविश्वासको प्रस्ताव समेत दर्ता गर्न नसकिने निर्णय गरेको थियो।
ठाकुर र महतोले सदनमा कांग्रेस र जसपा तटस्थ बस्दा राम्रो हुने सुझाव दिने बताइन्छ।

