

सभापति देउवा र प्रचण्डबीच भेटवार्ता, के-के भयो कुराकानी ?

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
उनीहरुबीच सभापति देउवा निवास बूढानीलकण्ठमा आज साँझ भएको भेटवार्तामा आसन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचन, प्रतिनिधिसभामा प्रधानमन्त्रीले लिने विश्वासको मतलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने, राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचन र नयाँ सरकार गठनका लागि नेताहरुको दौडधूप बढेको छ । यसअघि हिजो एमाले नेता माधवकुमार नेपाल पनि बुढानिलकण्ठ पुगेर देउवालाई भेटेका थिए भने अस्ति प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेता पुगेर देउवासँग छलफल गरेका थिए ।
शुक्रबार नै नेपाल पक्षका नेता भीम रावलले पनि देउवासँग छलफल गरेका थिए । देउवाले पछिल्ला समय नेताहरुसँग भएको छलफलबारे आफू निकट शीर्षस्थ नेतालाई ब्रिफिङ गरेका थिए ।

