उम्मेदवारी दर्तापछि ‘बादल’ले भने- संविधानको दिगो सम्वर्द्धनका लागि मेरो उम्मेदवारी


हेटौंडा – नेकपा एमाले का केन्द्रीय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापाले संविधानको दिगो सम्बर्धन तथा आर्थिक समृद्धिका लागि पार्टीको निर्देशन बमोजिम आफूले राष्ट्रियसभाको रिक्त सदस्य पदमा उम्मेदवारी दर्ता गराएको बताएका छन् ।

आफ्नो उम्मेदवारी दर्ता गराएर काठमाडौँ फर्कने क्रममा आज स्थानीय सञ्चारकर्मीहरुसँगको सङ्क्षिप्त कुराकानीमा उनले एमालेको सङ्गठनलाई अनुशासित र मर्यादित तुल्याउँदै कार्यकर्ताले नेता मुखी नभई जनता मुखी हुनुपर्ने धारणा व्यक्त गरे ।

गृहमन्त्री थापाले सङ्घीय सरकारले जनताको शान्तिसुरक्षाका लागि सातै प्रदेशमा उच्च सतर्कताको साथ सुरक्षा निकायलाई परिचालन गरिरहेको र प्रदेश सरकारले पनि आफ्नो स्रोत साधन परिचालन गरी कोभिड-१९ को सङ्क्रमित बिरामीलाई उपचार सेवा पुर्‍याउनेतर्फ एकमात्र लक्ष्य राख्नुपर्ने बताए ।

यसैगरी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायत पार्टीका साझा उम्मेदवार डा।खिमलाल देवकोटाले देशको संविधानको मूल प्रवाहलाई ट्र्याकमा ल्याउने प्रयासका लागि आफूले उम्मेदवारी दर्ता गराएको बताए । उनले प्रदेशको भूमिकालाई अझै जनमुखी, पारदर्शी र जिम्मेवार बनाउनु पर्नेमा जोड दिंदै जनताको बृहत् सहभागिताबाट ल्याइएको गणतान्त्रिक व्यवस्थालाई जीवन्त राख्न राजनीतिक दलहरुमा इमान्दारीको खाँचो औँल्याए ।

यस्तै अर्का उम्मेदवार नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले पनि आफूलाई पार्टीले दिएको निर्देशन बमोजिम उम्मेदवारी दर्ता गरेको बताए । देशको संविधान, ऐन तथा कानूनलाई आत्मसात् गर्दै नेपाली जनताको हितमा सधैँ स्वार्थरहित भएर अगाडि बढ्ने उनले दृढता व्यक्त गरे ।

प्रतिक्रिया