

एमाले मिलाउन राष्ट्रपतिदेखि दोस्रो तहका नेता सक्रिय, ओली–नेपाल टेलिफोन संवादमा के भयो?

काठमाडौं– नेकपा एमाले मिलाउनका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच टेलिफोन संवाद भएको छ।
पार्टीभित्रको विवाद चरम उत्कर्ष हुँदै विभाजनसम्मको संघारमा पुगेपछि मिलाउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीदेखि ओली–नेपाल पक्षका दोस्रो तहका नेताले प्रयत्न जारी राखेका छन्।
विहीबार राष्ट्रपति भण्डारीले अध्यक्ष ओलीलाई दुई पटक नेता नेपाललाई एक पटक कुराकानी गरिन्। शीतल निवासमा बोलाएर गरिएको कुराकानीमा विभाजित भएर जानुभन्दा पनि मिलेर जान सुझाव दिएकी थिइन्।
प्रधानमन्त्री ओलीले विहान र बेलुका दुई पटक राष्ट्रपति भण्डारीलाई भेटेका थिए भने नेता नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको संवादपछि शीतल निवास पुगेर कुराकानी गरेका थिए।
यसपछि ओलीले नेपाललाई टेलिफोन गरेको बताइएको छ। २७ वैशाखमा प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेसँगै एमाले विभाजन हुन सक्ने सम्भावना बढेको थियो।
ओली पक्षबाट महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत सक्रिय छन् भने नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, योगेश भट्टराईलगायतका नेताले संवाद जारी राखेको बताइन्छ।
यसैबीच ओलीले नेता नेपाललाई एमालेको सरकारलाई विश्वासको मत दिनका लागि टेलिफोनमा भनेका थिए। समस्या समाधानका निम्ति उनले नेपाललाई बालुवाटारमा निम्तो समेत दिएको बताइन्छ।

