भारतमा १५ गुणा खतरनाक नयाँ भेरियन्टको कोरोना भाइरस भेटियो

नयाँ भेरियन्टको नाम ‘एपी स्ट्रेन’, वैज्ञानिक भाषामा ‘एन४४०के’ नामाकरण


काठमाडौं – भारतमा कोरोना भाइरसको नयाँ स्वरुप (नयाँ भेरियन्ट) फेला परेको छ। नयाँ भेरियन्टको नाम ‘एपी स्ट्रेन’ राखिएको छ। आन्ध्र प्रदेशमा देखिएको नयाँ भेरियन्टलाई वैज्ञानिक भाषामा ‘एन४४०के’ नामाकरण समेत गरिएको छ।

भारतीय सञ्चार माध्यम द इकोनमिक टाइम्सका अनुसार नयाँ भेरियन्ट हालसम्म भेटिएका भेरियन्टभन्दा १५ गुणा संक्रामक एवं खतरनाक रहेको छ। यस भाइरसका कारण मानिसहरु ३/४ दिनमै गम्भीर रुपले बिरामी भइरहेका छन्।

हैदरावादस्थित सेन्टर फर सेल्युलर एण्ड मोलिक्युलर बायोलोजी (सिसिएमबी) का वैज्ञानिकले नयाँ भेरियन्ट ‘एपी स्ट्रेन’ पत्ता लगाएका हुन्। सुरुमा आन्ध्र प्रदेशको कुरनूल शहरमा फेला परेको ‘एपी स्ट्रेन’ यसअघिका ‘बी१.६१७’ र ‘बी१.६१८’ लगायतका भेरियन्टभन्दा निकै शक्तिशाली भएको वैज्ञानिकको भनाइ छ।

नयाँ भेरियन्टले युवाहरु, इम्युनिटी पावर बलियो भएका र आफ्नो स्वास्थ्यलाई निकै ख्याल गर्ने मानिसलाई पनि सजिलै संक्रमण गर्ने बताएको छ। ‘एपी स्ट्रेन’ भर्खर फेला परेको र यसबारे सबै कुरा थाहा नभइसकेकाले वैज्ञानिकहरु पनि निकै चिन्तित बनेका छन्।

भारतमा यसपटक सुरु भएको कोरोना लहर पहिलाको भन्दा निकै भिन्न छ र नयाँ भेरियन्टले तीव्र गतिमा मानिसलाई संक्रमित बनाइरहेको छ। पछिल्लो सात दिनमा महाराष्ट्र, आन्ध्र प्रदेश, कर्नाटक, केरला र तेलंगानामा कोरोना संक्रमितको संख्या बढिरहेको छ।

महाराष्ट्रमा ‘एपी स्ट्रेन’ सहित ६ वटा भेरियन्ट देखिए पनि बि१.६१७ नामक भेरियन्टबाट धेरै मानिसहरु संक्रमित भएका छन्। हाल भारतमा कोरोना भाइरसका बी.१, बी.१.१.७, बी.१.३५१, बी.१.६१७ र बी.१.३६ नामक पाँच मुख्य भेरियन्टबाट मानिसहरु संक्रमित भइरहेका छन्।

प्रतिक्रिया