

‘दोस्रो डोजसम्म भ्याक्सिन लगाउनेको कोरोनाबाट मृत्यु नहुने ग्यारेन्टि’

काठमाडौं– दुई जना विशेषज्ञले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध दोस्रो डोजसम्म खोप लगाउनेको मृत्यु नहुने ग्यारेन्टिको अवस्था हुने बताएका छन्। भारतीय यी विशेषहरूले यस्तो दाबी गरेको भारतीय पत्रिका दैनिक भास्करले अन्तरवार्ता नै प्रकाशित गरेको छ।
महात्मा गान्धी मेमोरिय अस्पतालका प्राध्यापक डा भीपी पाण्डे र सेल्बी ग्रुप अफ अस्पतालका कन्सल्टिङ फिजिसियन डा. अजय परिखसँगले यस्तो दाबी गरेका हुन्।
‘खोपले कोरोना संक्रमणको असरलाई कम गर्छ। यो ढाल वा रक्षाकव हो’, डा. पारखीले भनेका छन्। यस्तै डा. पाण्डेले खोपको प्रभावकारिता ८४ देखि ९१ प्रतिशतसम्म हुने दाबी गर्दै भनेका छन्,‘खोप लगाएका ८४ देखि ९१ प्रतिशत मानिसलाई संक्रमण हुँदैन। यसको अर्थ खोप लगाएकामध्ये १६ देखि ९ प्रतिशत मानिसलाई संक्रमण हुन सक्छ। अहिलेसम्मको अनुसन्धानले संक्रमणको जटिलता कम गर्न खोप सय प्रतिशत प्रभावकारी देखिएको छ भने मृत्युलाई पनि सय प्रतिशत नै रोक्ने देखाएको छ।’
खोपको पहिलो डोज लगाएपछि पनि कोरोना संक्रमण किन हुन्छ? भन्ने प्रश्नमा डा. परिख भन्छन्,‘खोपको पहिलो डोज लिएपछि त्यसले शरीरलाई यो भाइरस हो, संक्रमण गर्न सक्छ भनेर जानकारी दिन्छ। त्यसपछि त्यसविरुद्ध लड्न शरीरले आफूलाई तयार पार्छ। पहिलो डोज लिएपछि दुईदेखि ४ हप्तासम्ममा केही प्रतिशत एन्टिबडी पनि बनाउँछ। यसको मात्रा फरक फरक खोपअनुसार ५० देखि ७० प्रतिशतसम्म हुन सक्छ।’
सोही प्रश्नमा डा. पाण्डे भन्छन्,‘खोपको संरचना यस्तो छ कि यो शरीरमा गएर एन्डिबडी निर्माण सुरु गर्छ। शरीरमा एन्डिबडी बन्न समय लाग्छ। खोप लगाउनेबित्तिकै संक्रमण रोकिने होइन। अहिलेको कोरोना निकै संक्रामक छ। पहिलो डोज लिएको १५÷२० दिनपछि एन्टिबडी बन्न सुरु हुन्छ। जुन कोरोना रोक्न सक्षम हुँदैन। जब दोस्रो डोज लिइन्छ, त्यसलाई बुस्टर भनिन्छ।’
केही मानिसलाई कोरोना खोपको दोस्रो डोज लगाइसक्दा पनि कोरोना संक्रमण भइरहेको छ, कसरी? भन्ने प्रश्नमा परिखको उत्तर छ,‘यसमा आश्चर्य मान्नुपर्ने कुरा छैन। फेरि यो पनि सोच्न हुँदैन कि खोप प्रभावकारी रहेनछ। खोपको काम कोरोना संक्रमणको असरलाई कम गर्ने हो। दोस्रो डोज लगाएको १५ दिनपछि भने भाइरसको गम्भीर लक्षण पैदा गर्ने क्षमता शून्य हुन्छ।’
यहि क्रममा पाण्डे भन्छन्,‘यदि दोस्रो डोज लिन ढिला गरियो भने संक्रमण हुने खतरा बढ्छ। तर दोस्रो डोज लगाएपछि हामी भन्न सक्छौं कि कोरोना संक्रमण भइहाले पनि त्यसले गम्भीर बिरामी बनाउन सक्दैन। मृत्यु त हुँदै हुँदैन।’

