

देशभरका ४५ जिल्लामा निषेधाज्ञा, कास्कीमा आजदेखि सार्वजनिक सवारी सञ्चालनमा रोक

काठमाडाैं – नेपालमा कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ४५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
गृह मन्त्रालयको विवरण अनुसार पूर्ण र आंशिक गरी ४५ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । मन्त्रालयका अनुसार आज महोत्तरी, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा जारी गर्ने निर्णय जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले गरेका छन्।
जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञालाई कडा बनाउँदै आजदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा पनि रोक लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले आइतबार जारी गरेको आदेशमा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङक्रमण तीव्ररूपमा फैरिहेको भन्दै सर्वसाधारणलाई अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन र हिँडडुल नगर्न भनिएको छ ।
आज बिहान ५ः०० बजेदेखि वैशाख ३१ गते रातको १२ः०० बजेसम्मका लागि तोकिएको आदेशमा अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधन बाहेकका यात्रुबाहक सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
सबै किसिमका धार्मिकस्थलमा स्वास्थ्य मापदण्ड कायम गरी नियमित पूजाआजा बाहेकका अन्य कार्य नगराउन आदेशमा भनिएको छ ।
सबै किसिमका शैक्षिक संस्थामा भौतिक उपस्थितिमा गरिने पठनपाठन तथा परीक्षा सञ्चालन नगराउन आदेशमा उल्लेख छ ।
औषधि एवं स्वास्थ्य सामग्रीका पसल भने २४ सै घण्टा खुल्नुका साथै दैनिक उपभोग्य खाद्यान्न, फलफूल, माछामासुका लागि बिहान ५ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ ।

