निषेधाज्ञा थप कडाइ गर्ने तयारी, यस्ता छन् नयाँ प्रावधान


काठमाडौं – निषेधाज्ञाका बेला सञ्चालित खाद्यान्न, फलफूल तरकारी लगायतका अत्यावश्यक उपभोग्य वस्तु बोक्ने ढुवानीका सवारीहरूमा अब चालक र कामदार बाहेक अन्य व्यक्ति बस्न नपाउने भएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सक्रियतामा सोमबार बसेको निजी व्यवसायीहरुको प्रतिनिधि तथा छाता संगठनहरुको बैठकले यस्ता सवारी साधनहरुमा आवश्यक व्यक्तिहरुलाई मात्र गाडीमा बस्न दिने निर्णय गरेको हो ।

निर्णयसँगै बैठकले अबदेखि निषेधाज्ञामा सञ्चालन हुने प्रत्येक ढुवानीका साधनहरुले गाडीमा ढुवानीको प्रकृति उल्लेखित ब्यानर वा स्टिकर टाँस्नु पर्ने र गाडीमा को को रहने हो सो को विवरण खुलाई जिल्ला प्रशासन कार्यालयमा पठाउनु पर्ने भएको छ ।

कोभिड–१९ को तिव्र सङ्क्रमणका बीच निषेधाज्ञाको समयमा पनि स्वास्थ्य सुरक्षाको अधिकतम उपाय अपनाउँदै अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहज राख्न यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था र तोकिएका सेवा प्रवाहका लागि सरकारी कार्यालय र आवागमनका लागि यसअघि जारी गरिएका निषेधाज्ञामा थप केही कडा प्रावधान ल्याउनेबारे छलफल भइरहेको पनि बताइएको छ ।

सडकमा अत्यावश्यक कामका लागि हिँड्ने पैदलयात्रीले पनि त्यसको औचित्य र प्रमाण देखाउनुपर्नेबारे प्रावधान ल्याउनेगरी उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरु गृहकार्यमा जुटिरहेका छन् ।

प्रतिक्रिया