लक गरेको कारभित्र कसरी छिरे बच्चा? प्रहरी भन्छ, ‘यो शंकास्पद छ’


काठमाडौं – दाङको तुलसीपुर–६ स्याउली बजारमा पार्किङ गरिराखेको कारभित्र तीन बच्चा मृत फेला परेपछि त्यसको अनुसन्धान गम्भीर ढंगले गरिरहेको छ।

‘आइतबार दिनभर अनुसन्धानमा व्यस्त भयौं,’ अनुसन्धानमा संग्लन एक अधिकारीले भने, ‘सञ्चार माध्यामले गरेको फोन समेत रिसिभ गर्ने फुर्सद भएन। अनुसन्धानलाई प्रहरीले जारी राखेको छ।’

आइतबार नै प्रहरीले गाडी धनी ३३ बर्षीय स्थानीय यादव गैरे र चालक सोही ठाउँका ५७ बर्षीय पदमबहादुर बस्नेतलाई मुद्दा चलाएको छ। उनीहरुलाई दिनभर नियन्त्रणमा लिएर अनुसन्धान पनि गरिरहेको छ।

उनीहरुले प्रहरीलाई १ माघमा सोही स्थानमा कार पार्किङ गरेको बयान दिएका छन्। ‘कार लक गरेर राखिएको हो,’ उनीहरुले प्रहरीसमक्ष भनेका छन्।

तर, लक गरेको गाडीमा कसरी बच्चाहरु छिरे, भित्र कसरी बत्ति बल्यो? भन्ने विषय गम्भीर हो। यसैमा टेकेर प्रहरीले अनुसन्धान थालेको इप्रका तुलसीपुरका डिएसपी शिबबहादुर सिंहले बताए।

यो विषय शंकास्पद भएको प्रहरील स्रोतले बताएको छ। अहिले बच्चाहरुको पोष्टमार्टम भइरहेको छ। पोस्टमार्टम रिपोर्ट आएपछि अनुसन्धानमा थप सहज हुने डिएसपी सिंहले बताए।

पोष्टमार्टमका लागि फरेन्सिक एक्सपोर्ट डाक्टर बुटवलबाट गएका छन्। नेपालगञ्जबाट कुकुरसहित विज्ञको टोली तुलसीपुर पुगेको छ। स्थानीयले शनिबार कारमा बक्ती बालेको देखेपछि हेर्न जाँदा बच्चाहरु मृत अवस्थामा भेटिएका थिए।

पार्किङ गरिराखेको भरतीय नम्बर प्लेटको आरजे सीसी ०८८५ नम्बरको गाडीमा तुलसीपुर उपमहानगरपालिका–६ गाइडहर बस्ने भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका ७ बर्षीय छोरा सुवर्ण परियार र किरण परियारका ७ बर्षीय छोरा करण परियार मृत फेला परेका थिए।

आफन्तका अनुसार बालकहरु १६ वैशाखदेखि हराएका थिए।

प्रतिक्रिया