

बलात्कारको आरोप लागेका पूर्वडिएसपी राजकुमार खिउजुले पाए सफाइ

काठमाडौं – बलात्कारको आरोप लागेका नेपाल प्रहरीका पूर्व नायब उपरीक्षक (डिएसपी) राजकुमार खिउजुले सफाइ पाएका छन्। ललितपुर जिल्ला अदालतले ९ वैशाखमा उनीमाथि लागेको आरोप पुष्टि नहुने भन्दै सफाइ दिएको हो।
अदालतका न्यायाधीश देवकुमार गिरीको इजलासले उनीमाथिको अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो। यसअघि गत १५ जेठमा उनलाई ललितपुर जिल्ला अदालतले नै पुर्पक्षका लागि जेल चलान गरेको थियो।
महानगरीय प्रहरी वृत्त चापागाउँ, ललितपुरको प्रमुख रहेका बेला खिउजुले कार्यालयभित्रै बलात्कार गरेको र त्यसपछि पनि पटक–पटक घटना दोहोर्याएको दाबीसहित एक युवतीले ललितपुर प्रहरी परिसरमा उजुरी दिएकी थिइन्।
प्रहरी रिपोर्ट बनाउन भन्दै ३० माघ २०७५ मा वृत्त चापागाउँ पुगेकी ती युवतीलाई खिउजुले रिपोर्ट बनाइदिन सहयोग गर्ने प्रलोभन देखाउँदै बलात्कार गरेको आरोप लागेको थियो।

