

सिन्धुपाल्चोकका सिडिओ र एसपी दुवैजना कोरोना संक्रमित

काठमाडौं – जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रजिअ (सिडिओ) अरुण पोखरेल र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) राजन अधिकारी दुवैजना कोरोना संक्रमित भएका छन्।
संक्रमित भएसँगै दुवैजनाले आइसोलेशनबाट कमाण्ड सम्हालिरहेका छन्। जिल्लामा कोरोना नियन्त्रण, रोकथामका, न्युनीकरण र सचेतना लगायत कार्यहरु सञ्चालन गर्दागर्दै आफैं संक्रमित भएका हुन् दुवैजना।
प्रजिअ पोखरेललाई एक साताअघि कोरोना संक्रमण पत्ता लागेपछि सरकारी क्वार्टरमै आइसोलेशनमा छन्। ‘सुरुका केही दिन त गाह्रो नै भयो तर खोप लगाएकाले धेरै असहज भएन,’ उनले भने, ‘आइसोलेसनमा बस्दा पनि नियमित काम रोकिएको छैन।’
एसपी अधिकारीलाई तीन दिनदेखि संक्रमणले सताएको छ। उनी पनि जिप्रकाकै क्वार्टरमा छन्। २४ सै घण्टा प्रहरीलाई फिल्डमा उतार्नुपर्ने प्रहरीका कमाण्डर नै आइसोलेसनमा रहँदासमेत काम गर्न भने समस्या नभएको एसपी अधिकारीले बताए।
एसपी राजन अधिकारी अहिले दोस्रो पटक आइसोलेसनमा हुन्। होम आइसोलेसनमा बस्दा तनावबाट मुक्त भएर आरम गर्नुपर्ने भए पनि दुवै कमाण्डरलाई आइसोलेसनबाटै नेतृत्व लिनुपर्ने बाध्यता छ।
कोरोना महामारी नियन्त्रणका लागि केन्द्रीय संरचनाअन्तर्गत जिल्ला स्तरका कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को नेतृत्व प्रजिअको रहन्छ। त्यसका सदस्यहरु जिल्ला प्रहरी प्रमुख, स्वाथ्य प्रमुखलगायत रहन्छन्।

