लुम्बिनीमा पोखरेलको राजीनामा स्वीकृत भएपछि ओलीले डाके मन्त्रिपरिषदको आकस्मिक बैठक


File Photo

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको एक मन्त्रीले जानकारी दिए।

तर उनले बैठकका एजेण्डाबारे भने खुलाएनन् । ती मन्त्रीले भने, ‘हामीलाई बोलाइएको छ एजेण्डा त्यहीँ गएरै थाहा हुन्छ।’

ओलीका विश्वासपात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएसँगै एकाएक केन्द्रमा समेत भुइँचालो गएपछि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्दै आएको छ। तर लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएपछि अचानक मन्त्रिपरिषद बैठक बोलाएका हुन्। आजको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

२०७४ को निर्वाचनपछि पहिलोपटक लुम्बिनी प्रदेशमा सत्ता परिवर्तन हुन लागेको हो। दाङ २ (क) बाट चुनाव जितेका पोखरेल २०७४ फागुन ३ गते मुख्यमन्त्री बनेका थिए।

मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अन्य प्रदेशमा यही अवस्था नआउला भन्न सकिन्न।

पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। आइतबार बिहान राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरिदिएका उनको राजीनामा लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले स्वीकृत गरेका हुन्।

मुख्यमन्त्री पोखरेलविरुद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेशसभामा आइतबारबाट छलफल शुरु हुँदैछ।

यसअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव परे पनि उनले भने एमालेकै चार सांसदहरुको ‘फ्लोर क्रस’ का कारण विश्वासको मत लिएका थिए। उनी माओवादी केन्द्रका हुन् ।

ओलीका विश्वासीहरु गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ। चुनावकै दिन जनमोर्चाका सांसद र एमालेकै राजीव गुरुङ (दीपक मनाङे) बेपत्ता भएपछि चुनाव बिथोलिएको थियो।

दीपक मनाङेलाई मुख्यमन्त्री गुरुङले खेलकुद मन्त्री बनाइसकेका छन्।

यद्यपी, कोरोना भाइरसको महामारी फैलदै जाँदा सीसीएमसीले सिफारिस गरेको थप प्रतिबन्धबारे आवश्यक छलफल गर्न बैठक बोलाएको हुनसक्ने बताइएको छ।

प्रतिक्रिया