

लुम्बिनी प्रदेश प्रमुखद्वारा मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। मुख्यमन्त्री पोखरेलले आजै केही बेर अघि प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाएका थिए।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलका अनुसार प्रदेश प्रमुख यादवले आज मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत गरिदिएका हुन् ।
उनी विरुद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए।
आज प्रदेश सभामा उनी विरुद्धको अविश्वास प्रस्ताव पेस हुन लागेको छ। उनले प्रदेश सभाको बैठक बस्नु अघि नै राजीनामा दिएका हुन्। प्रदेश सभाको बैठक आज दिउसो १ बजे बस्न लागेको छ।

