

श्रमिकको आधारभूत पारिश्रमिक बढ्यो, प्रतिघण्टा काम गर्नेको हकमा न्यूनतम ७७ रुपैयाँ

काठमाडौं – श्रमिकले पाउने न्यूनतम पारिश्रमिकमा वृद्धि भएको छ । सरकारले श्रमिकहरुको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ तोकेको हो ।
१३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको आधारभूत पारिश्रमिक बढेको घोषणा गर्दै अब मासिक रुपमा काम गर्ने श्रमिकले मात्र नभएर दैनिक र घण्टामा काम गर्ने श्रमिकले समेत बढेको स्केल अनुसारको न्यूनतम पारिश्रमिक पाउने बताए ।
यसअघि नेपाली श्रम बजारमा श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४५० रुपैयाँ थियोे । उनका अनुसार अब दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको दैनिक ५ सय १७ रुपैयाँ पाईरहेकोमा अबदेखि ५ सय ७७ रुपैयाँ पाउने छन् ।
त्यस्तै, हाल प्रतिघण्टा ६९ रुपैयाँमा काम गरिरहेकाले न्यूनतम ७७ रुपैयाँ पाउनेछन् । यद्यपि बढाइएको पारिश्रमिक आउँदो आर्थिक वर्ष २०७८/८९ देखि मात्र लागु हुने सरकारले जनाएको छ ।

