चीनको सहयोग लिन सरकारलाई विवेकशील साझाको ६ बुँदे सुझाव


काठमाडौं – कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि चीन सरकारको सहयोग लिन विवेकशील साझा पार्टीले सरकारलाई सुझाएको छ ।

विवेकशील साझा पार्टीले पार्टीका प्रवक्ता शरदराज पाठकले आज सरकारलाई ६ बुँदे सुझाव दिँदै ‘मित्र राष्ट्रहरू खास गरी चीनसँग विपद् व्यवस्थापन विज्ञ टोलीदेखि अक्सिजन, भेन्टिलेटर, पीपीईजस्ता आवश्यक सामग्री सहयोग’ का लागि अपिल गर्न भनेका हुन्।

विवेकशीलले कोरोनाका कारण उत्पन्न जटिल परिस्थितिसँग जुध्न राज्यका तर्फबाट हरसम्भव उपाय लगाएर नागरिकलाई पनि सहयोगका लागि अभिप्रेरित गर्नुपर्नेमा दैनिक साढे पाँच हजार सङ्क्रमण देखिएको स्थितिमै सरकारले यसरी लत्तो छाडिदिनु एकदमै गैह्रजिम्मेवारपूर्ण र गम्भीर आपत्तिको विषय भएको ठहर पनि गरेको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार एक विज्ञप्तिमार्फत कोरोना संक्रमणको दोस्रो लहरका कारण देशको स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था आएको र सङ्क्रमित बिरामीलाई अस्पतालमा शय्या उपलब्ध गराउनसमेत नसकिने जनाएको थियो ।

विवकेशील साझाका सरकारलाई ६ सुझाव :
१) काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरहरूका निजी अस्पतालहरूमा समेत कोरोना सङ्क्रमितको उपचारको व्यवस्था तथा निजी अस्पतालसँग सम्बद्ध जनशक्ति र स्रोत-साधनको समुचित प्रयोग ।

२) सेना र प्रहरीसमेतको सहयोग लिएर कोरोनाबाट प्रभावित सबै क्षेत्रमा अस्थायी उपचार केन्द्रहरूको स्थापना ।

३) सेना र प्रहरीकासहित देशभित्र र बाहिर रहेका सबै सेवा निवृत्त चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई बिरामीको उपचार सेवामा स्वयंसेवी भई सहयोग गर्न अपिल ।

४) मित्र राष्ट्रहरू खास गरी चीनसँग विपद् व्यवस्थापन विज्ञ टोलीदेखि अक्सिजन, भेन्टिलेटर, पीपीईजस्ता आवश्यक सामग्री सहयोगको अपिल ।

५) हाल रोकिएको कोभिड-१९ विरुद्धको खोप कार्यक्रम व्यवस्थित बनाएर तत्काल पुनः सञ्चालन ।

६) निषेधाज्ञा अवधि लम्ब्याउनुपर्ने अवस्था आइपरे श्रमिक तथा दैनिक ज्याला मजदुरी गर्ने अति विपन्न वर्ग विगतमा जस्तै खानै नपाउने गरी समस्यामा पर्ने हुनाले त्यस्तो स्थिति आउन नदिन अहिलेदेखि नै आवश्यक तयारी ।

प्रतिक्रिया