

‘प्रधानमन्त्रीज्यू अहंकारको धरहराबाट ओर्लनुस्, कठिन अवस्था आइसक्यो’

काठमाडौं – कोरोनाको महामारीमा प्रधानमन्त्री केपी शर्मा ओली गैरजिम्मेवार बन्दै गएको नेपाली कांग्रेसका नेता गगन थापाको आरोप छ। मन्त्रालयले हात उठाइसकेको अवस्थामा कोरोना नियन्त्रण प्रधानमन्त्रीको प्राथमिकतामा नपर्नु आपत्तिजनक भएको थापाले बताए।
शनिबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा उनले भनेका छन्, ‘कोरोना संक्रमणको जुन भयावह अवस्थामा हामी छौँ, निश्चय नै सरकार एक्लैले यसको सामना गर्न सक्दैन। सबै पक्ष र आम नागरिक सचेत, सतर्क र जिम्मेवार बन्नैपर्छ। तर प्रधानमन्त्रीज्यू यो लडाइमा ‘हामी सक्दैनौँ’ भनेर मन्त्रालयले हात उठाउने अनि तपाईंको प्राथमिकतामा अझै पनि महामारी नपर्ने! आपत्तिजनक छ।’
कोरोना संक्रमणको जुन भयावह अवस्थामा हामी छौँ,निश्चय नै सरकार एक्लैले यसको सामना गर्न सक्दैन।सबै पक्ष र आम नागरिक सचेत,सतर्क र जिम्मेवार बन्नैपर्छ।तर @PM_Nepalज्यू यो लडाइमा’हामी सक्दैनौँ´भनेर मन्त्रालयले हात उठाउने अनि तपाईँको प्राथमिकतामा अझै पनि महामारी नपर्ने!आपत्तिजनक छ!(१/२)
— Gagan Thapa (@thapagk) May 1, 2021
अवस्था कठिन भएपनि स्रोतसाधन सदुपयोग गरी क्षति न्युनीकरण गर्न सकिने ठाउँ प्रशस्त भएको थापाको बुझाइ छ। यसका लागि प्रधानमन्त्री ओली अहंकारको धरहराबाट ओर्लनुपर्ने उनको सुझाव छ।
‘कठिन छ, तर अझै हामीसँग उपलब्ध स्रोत, साधन, जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ। त्यसका लागि उपाय जानेकाहरुको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ। प्रधानमन्त्रीज्यू, हामी साथ दिन तयार छौं, कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस्,’ थापाले लेखेका छन्।
कठिन छ,तर अझै हामीसंग उपलब्ध स्रोत,साधन,जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ।त्यसका लागि उपाय जानेकाहरुको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ। @PM_Nepal ज्यू,हामी साथ दिन तयार छौँ,कृपया अब त अहंकार र अकर्मण्यता को धरहराबाट ओर्लनुस।(२/२)
— Gagan Thapa (@thapagk) May 1, 2021
शुक्रबार स्वास्थ्य मन्त्रालयले अपिल जारी मुलुकको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने भन्दै अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने अवस्थामा पुगेको जनाएको थियो। स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैय्या उपलब्ध गराउन नसक्ने मन्त्रालयले जनाएको छ।

