

टोल विकास संस्थालाई पुनः सक्रिय हुन सामाजिक विकास मन्त्रालयको आह्वान

मकवानपुर – वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले कोभिड-१९ को सङ्क्रमणको जोखिम हुन नदिन पुनः सचेतना अभियान सञ्चालन गर्ने भएको छ ।
यसका लागि मन्त्रालयले १३ वटै जिल्लाका स्थानीय तह अन्तर्गत रहेका टोल विकास संस्थालाई पुन: सक्रिय हुन आह्वान समेत गरेको छ ।
मन्त्रालयका आज आयोजित पत्रकार सम्मेलनमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले जिल्ला अस्पताललाई कारोना अस्पतालमा रुपान्तरण गर्दै सङ्क्रमितको उपचारमा पहिलो प्राथमिता दिने व्यवस्था मिलाइएको जानकारी समेत दिइन्।
उनले भनिन् ‘कोरानाका बिरामीलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर र आइसीयूको व्यवस्था गरिनेछ । यसका लागि आवश्यक श्रोत र साधन उपयोग गरिने छ ।’ कोरोना सङ्क्रमण नियन्त्रणका लागि अल्पकालीन र दीर्धकालीन योजना कार्यान्वयन समेत भइरहेको उनले बताइन् ।
सामाजिक विकास राज्यमन्त्री डा रामकुमार अधिकारीले सङ्क्रमण न्यूनिकरण गर्न अस्पतालमा दक्ष चिकित्सक, सुबिधायुक्त प्रयोगशाला सहित अक्सिजन र भेन्टिलेटरको व्यवस्थापन गरिएको जानकारी दिए । उनले स्वास्थ्य मापदण्डलाई पालना गर्न आग्रह गरे ।
नेपाल पत्रकार महासङघका अध्यक्ष मणिराज गौतमले कोरोना नियन्त्रणका लागि सरकार, सामाजिक क्षेत्र र स्थानीय निकायका बीचमा प्रभावकारी समन्वयको खाँचौ औँल्याउँदै घरदैलोमा जनचेतना पु¥याउन आग्रह गरे ।

