

रोल्पामा भीषण आगलागी, २६ घर र १५ गोठ नष्ट

काठमाडौं — रोल्पामा आगलागीमा परी २६ घर नष्ट भएका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका, पिराले गाउँमा मंगलबार रातिदेखि आगलागी हुँदा २६ घर र १५ वटा गोठ जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जनाएका छन् ।
जगंलमा लागेको आगो फैलिँदै गई गाउँमा आगलागी भएको पनि उनले बताए । आगलागीमा परी १५ गोठमा रहेका केही वस्तुभाउ जलेको जनाइएको छ ।
आगो नियन्त्रणमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका साथी स्थानीय पनि खटेर नियन्त्रणमा लिएको जनाइएको छ ।
आगलागीका कारण खानेपानीका पाइप जलेका छन्, विद्युत् अवरुद्ध छ । बुधबार बिहान प्रमुख जिल्ला अधिकारी सापकोटासहित, प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीसहितको टोलीले आगलागी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ ।

