

निषेधाज्ञामा सम्बन्धित सञ्चारगृहकै परिचयपत्र बोकेर हिँड्न पाइने

काठमाडौँ – सञ्चारकर्मीले निषेधाज्ञाको अवधिमा सम्बन्धित सञ्चार गृहकै परिचयपत्रका आधारमा पनि आवतजावत गर्न पाइने भएको छ । बिहीबारदेखि उपत्यकामा लागू निषेधाज्ञामा सञ्चार प्रतिष्ठानबाट जारी परिचयपत्रका आधारमा सञ्चारकर्मी र कर्मचारीलाई आवतजावत गर्न दिइने भएको हो ।
निषेधाज्ञाका बेला आवागमन गर्ने सञ्चारकर्मी र मिडियाका हाउसका कर्मचारीलाई सूचना विभागबाट जारी परिचयपत्रबाहेक पनि सम्बद्ध मिडिया हाउसले जारी गरेको परिचयपत्रका आधारमा आवागमन गर्न दिइने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
सुरक्षाकर्मीलाई मिडिया हाउसको परिचयपत्र बोकेका सञ्चारकर्मी र कर्मचारीलाई सहज आवागमन गर्न दिन निर्देशन दिइएको छ । सञ्चारकर्मीलाई फिल्डमा केही समस्या आइपरे जिल्ला प्रशासन कार्यालय र नजिकैको प्रहरी कार्यालयमा समन्वय गर्नसमेत अनुरोध गरिएको छ ।
यसअघि सोमबार उपत्यकाका तीन वटै प्रशासनले निषेधाज्ञामा सूचना विभागबाट जारी प्रेस पासवाहकलाई आवागमन गर्न दिने उल्लेख गरिएको थियो ।

