कोरोना संक्रमणको ‘टार्गेट’मा युवापुस्ता, मंगलबार मात्रै २०–३९ वर्षसमूहका २२४१ संक्रमित


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार ५ सय २४ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्ला दिनहरुमा दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

कोरोनाको दोस्रो भेरियन्टले नेपालमा अधिकांश युवापुस्तालाई आक्रमण गरेको तथ्यांकले देखाएको छ । स्वास्थ्यमन्त्रालयका अनुसार गत २४ घन्टामा देखिएका संक्रमितमध्ये १ हजार १२६ जना २० देखि २९ वर्ष उमेरसमूहका रहेका छन् भने १ हजार ११५ जना ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरु रहेका छन् ।

कोरोनाको पहिलो लहरमा अधिकांश ६० वर्षदेखि माथिका उमेर समूहलाई संक्रमित बनाएको कोभिड–१९ भाइरसले यसपटक भने युवा उमेरसमूह एवं उत्पादकसमूहलाई आक्रमण गरेको छ ।

नेपालको १० जिल्लामा ५ सय भन्दा बढी कोरोना संक्रमित रहेको तथ्यांक सार्वजनिक भइरहेका बेला ९ जिल्लामा २ सय भन्दा बढी संक्रमित देखिएका छन् भने बाँकी ५८ जिल्लामा कुनै न कुनै संख्यामा कोरो संक्रमित रहेका छन् ।

पछिल्लो तथ्यांकअनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा ५ सय भन्दा बढी संक्रमित रहेका जिल्ला रहेका छैनन् । नेपालमा पछिल्लो २४ घन्टामा गरिएको पीसीआर परिक्षणमा १२.७ प्रतिशतमा संक्रमण दर रहेको छ भने संक्रमितमध्ये १.१ प्रतिशत मृत्युदर रहेको तथ्यांक स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया