राष्ट्रियसभा उपनिर्वाचनमा एक करोड ६१ लाख बढी खर्च हुने आयोगको अनुमान


काठमाठौं – जेठ ६ गते हुने उपनिर्वाचनमा एक करोड ६१ लाख ३० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय सभा सदस्यमा रिक्त एक सिटका लागि जेठ ६ गते हुने उपनिर्वाचन हुन लागेको हो । आयोगले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उपनिर्वाचन सञ्चालनका लागि आर्थिक व्यवस्थापन सम्बन्धमा कार्यविधि तयार पारिएको जनाएको छ । सोही कार्यविधि अनुसार निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि उक्त खर्च लाग्ने अनुमान गरिएको आयोगले उल्लेख गरेको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार निर्वाचन आयोग ऐनको दफा २७ र २८ अनुसार उक्त कार्यविधिमा सहमति र अनुमानित बजेट निकासाका लागि अर्थ मन्त्रालयमा पत्राचार गरिएको छ ।

यसैबीच आयोगले बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनको दफा ७ बमोजिम न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्ली रत्न श्रेष्ठलाई निर्वाचन अधिकृत पदमा नियुक्त गरेको छ । आयोगका अनुसार वैशाख १६ बाट लागू हुनेगरी श्रेष्ठलाई निर्वाचन अधिकृत नियुक्त गरिएको हो ।

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य पदबाट रामबहादुर थापा ‘बादल’लाई कारवाही गरेपछि रिक्त रहेको एक सिटमा उपनिर्वाचन हुन लागेको हो ।

 

 

प्रतिक्रिया