जसपाभित्र उपेन्द्रकै गुटमा विभाजन, ओलीको समर्थनमा देखिएका महन्थसँग २३ सांसद (नामसहित)

अविश्वासको प्रस्तावका पक्षमा उभिनुपर्ने दबाब दिँदै कार्यकारीणि समितिको बैठक बोलाउन प्रस्ताव गर्दा महतोले भने– कोरोना फैलियो भने?


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वासको प्रस्ताव दर्ता गर्दै सरकार गिराउने कांग्रेस–माओवादी केन्द्रको तयारीलाई जनता समाजवादी पार्टी (जसपा)को आन्तरिक विभाजनले धक्का दिएको छ।

सदनमा निर्णायक रहेको जसपाको पूर्व संघीय समाजवादी पार्टीभित्र नै विभाजन आएको छ भने त्यसका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री ओलीको समर्थनमा देखिएका छन्। ओलीले नै माग पूरा गरिरहेका कारण अविश्वासको प्रस्तावमा सहमति नहुने ठाकुरले शीर्ष नेताको मंगलबारको बैठकमा भनिदिए।

ओलीको समर्थनमा ठाकुर रहनुका पृष्ठभूमीमा केही उदाहरण छन्। सर्वदलीय बैठकमा उपेन्द्र यादव, डा. बाबुराम भट्टराई गएनन् तर ठाकुर र लक्ष्मणलाल कर्ण सहभागी भए। जसपाको माग पूरा गर्नका लागि ठाकुरले पूर्वसमाजवादीलाई बाइकट गरी कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई सरकारी टोलीसँग वार्ता गर्न पठाए।

पूर्व राजपाबाट भने ओलीको विपक्षमा महेन्द्र राय यादव मात्र उत्रिएका छन्। २३ जना भने ओलीका पक्षमा खुल्ने लगभग तयार भएका छन्। राजेन्द्र महतोदेखि अन्य सबै सरकारलाई समर्थन दिने या चुनावमा जाने पक्षमा छन्।

ओली सरकारलाई समर्थन दिन नहुनेमा यादव, भट्टराई, मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ, रेणु यादव र सूर्यनारायण यादव रहेको स्रोतले जनाएको छ।

प्रदिप यादव र उमाशंकर अरगरियालगायत सरकारका पक्षमा छन्। अनिल झा, राजकिशोर यादव, अमृतादेवी अग्रहरी, अरगरिया, एकवाल मियाँ, कलुदेवी विश्वकर्मा, चन्दा चौधरी, चन्द्रकान्त चौधरी, दुलारीदेवी खत्वेनी, नरमाया ढकाल, निर्जला राउतलगायत ठाकुर पक्षमा उत्रिएका छन्।

प्रदिप यादव, प्रमोद साह, बिमलप्रसाद श्रीवास्तव, महन्थ ठाकुर, राजकिशोर यादव, रानी मण्डल, रामबाबुकुमार यादव, रामशहाय यादव, रुही नाज, रेनुका गुरुङ, शरतसिंह भण्डारी र सुरेन्द्र यादव पनि ओली सरकारलाई समर्थन गर्ने तयारीमा छन्।

यसैबीच उपेन्द्रको समूहले ओली सरकारलाई समर्थन गर्न नहुने र अविश्वास प्रस्तावका पक्षमा उभिने निर्णय गर्न कार्यकारिणी समितिको बैठक माग गरेका थिए। तर, नेता राजेन्द्र महतोले अहिले कोरोना कहरका बेला बोलाउन नहुने बताएका थिए। स्रोतले भन्यो,‘कोरोना फैलियो भने? भनेर प्रश्न गर्नुभएको छ।’

त्यसो त माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको खण्डमा अहिले ओलीको विकल्प खोज्न पनि नहुने ठाकुरको भनाई थियो।

प्रतिक्रिया