गण्डकी प्रदेश : मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश, प्रतिगमनलाई साथ दिएको आरोप


पोखरा – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ ।

प्रदेशसभाको विशेष अधिवेशनको पहिलो बैठकमा नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन् ।

सोमबार दिउँसो बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री गुरुङले प्रतिगमनको पक्षमा वकालत गरेको र प्रतिगमनलाई साथ दिँदै आएको आरोप लगाए ।

मुख्यमन्त्री गुरुङले प्रदेशसभाको रोष्टममै उभिएर वीपी कोइराला नेतृत्वको सरकारले दुई तिहाई हुँदा हुँदै संसद विघटन गरेको, गिरिजाप्रसाद कोइरालाले बहुमत हुँदा हुँदै प्रतिनिधिसभा विघटन गरेको तर्क गरेकोमा पोखरेलले आपत्ति जनाए ।

उनले असंवैधानिक कदम चाल्ने केन्द्रीय सरकारको मतियारका रुपमा गण्डकी प्रदेश सरकार रहेको आरोपसमेत लगाए । मध्यरातमा संसद अधिवेशन अन्त्य गरिएकोमा पनि उनले आपत्ति जनाए । प्रदेश सरकारको यो भूमिका गण्डकी प्रदेशका जनताको भावना प्रतिकुल रहेको उनले बताए ।

त्यस्तै सरकार अल्पमतमा गएपछि स्वाभाविक रुपमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्नेमा समर्थन गर्ने दलले समर्थन फिर्ता लिइसकेपछि पनि कुर्सीमा बसिरहन खोजेको भन्दै उनले मुख्यमन्त्री गुरुङको आलोचना गरे ।

अविश्वास प्रस्ताव पेश भइसकेको अवस्थामा संसदमा सामना गर्नबाट सरकार भागेपछि आफूहरुले विशेष अधिवेशन माग गर्दै सरकारलाई संसदमै ल्याएको र अविश्वास प्रस्तावको प्रक्रिया अघि बढाएको उनले बताए ।

प्रतिक्रिया