

काठमाडौं उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा
बैंक र सरकारी कार्यालय खुल्ने, यातायात बन्द गरिने

काठमाडौं – काठमाडौं उपत्यकामा १६ वैशाखदेखि कडाइका साथ लगाइने भएको छ। सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको बैठकले निषेधाज्ञाको निर्णय गरेको हो।
संयुक्त बैठकअघि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले गृह सचिव महेश्वर न्यौपानेसँग परामर्श गरेका थिए। ‘आगामी वैशाख १६ गते मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय भएको हो,’ एक जना प्रमुख जिल्ला अधिकारीले अनलाइनन्यूज७सँग भने।
औपचारिक रूपमा निर्णय बाहिर आइसकेको छैन। यसको औपचारिक निर्णय साँझसम्म सार्वजनिक गरिने काठमाडौंका सिडिओ कालीप्रसाद पराजुलीले बताए।
बैठकले अत्यावश्यक सेवाका बाहेक सार्वजनिक सवारीसाधन समेत चलाउने नदिने निर्णय भएको छ। तर, बैंक र सरकारी कार्यालय भने खुल्नेछन्।
खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी सञ्चालन गर्न पाइने छैन। सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिनेछ। त्यस्तै शैक्षिक संस्था, निजी कार्यालय, होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्चालन गर्न पाइने छैन।
कोरोनाभाइरस संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले पाँच सयभन्दा बढी संक्रमित फेला परेका ठाउँमा आगामी १६ गतेदेखि निषेधाज्ञा लगाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो। सोही अनुरुप आइतबार बसेको बैठकले शहरी क्षेत्रमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको क्षेत्रमा निषेधाज्ञा गर्न सिफारिस गरेको हो।
मन्त्रिपरिषद् बैठकले यसअघि नै ७७ वटै जिल्लाका सिडिओहरुलाई लकडाउन लगाउन सक्ने अधिकार दिएको थियो। त्यस्तै रात्रिकालिन व्यवसाय ८ बजेपछि पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ।

