काँग्रेसले बोलायो पदाधिकारी बैठक


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ । आज दिउँसो पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक बोलाइएको एक नेताले जानकारी दिए ।

आजको बैठकको मुख्य कार्यसूची १४ औँ महाधिवेशनको तयारी, राष्ट्रिय सभा उपनिर्वाचनका लागि उम्मेदवार चयन तथा केन्द्र र प्रदेश सत्ता समीकरण लगायतका विषयमा छलफल हुने रहेका छन् ।

राष्ट्रिय सभा सदस्य पदका लागि जेठ ६ गते उप निर्वाचनको मिति तय भएको छ । रामबहादुर थापा बादल पदमुक्त भएपछि राष्ट्रियसभा सदस्य पद खाली भएको थियो ।

काँग्रेसले पनि उक्त निर्वाचनमा आफ्नो उम्मेदवारलाई जिताउन अन्य दलसँग सहकार्य गर्ने विषयमा समेत छलफल हुने जनाइएको छ । पार्टीको कार्यसमितिको बैठक सोमबार बोलाइएको छ ।

प्रतिक्रिया