ओलीले बोलाए एमालेको महाधिवेशन आयोजक कमिटी आकस्मिक बैठक


काठमाडौं – नेकपा एमाले एवं प्रधानमन्त्री केपी शर्मा ओलीले १० औं महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बोलाएको छ । पार्टी अध्यक्ष ओलीले आज (आइतबार) बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएको हो ।

एमाले नेता कर्णबहादुर थापाले दिएको जानकारी अनुसार हिजो (शनिबार) साँझ शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल भएको र छलफलपछि आज विहान १० बजेका लागि आकस्मिक बैठक बोलाइएको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बैठकको एजेण्डाबारे भने कुनै जानकारी नपठाएको उनको भनाइ छ । ‘आकस्मिक बैठक भएकाले एजेण्डाबारे केही जानकारी आएको छैन । केही महत्वपूर्ण निर्णय लिनुपर्ने भएकोले बैठक बोलाइएको होला,’ थापाले भने ।

शुक्रबार बसेको आयोजक कमिटीको बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने चार जना सांसदलाई पार्टीबाट निष्कासन गरेको थियो भने २६५ जना केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको थियो । बैठकले झलनाथ खनाल र माधव नेपाल पक्षलाई अलग राखेर पार्टीको स्थायी समिति गठन गरिएको थियो ।

यस्तै २७ जना संघीय सांसदमाथि सोधिएको स्पष्टीकरणबारे निर्णय लिने जिम्मा स्थायी समितिलाई दिइएको थियो । तर ​केही महत्वपूर्ण निर्णय लिनुपर्ने भएकाले आयोजक कमिटीकै बैठक बस्न लागेको थापाले बताए ।

प्रतिक्रिया