प्रदेश-२ को नाम ‘मिथिला भोजपुरा’ राख्‍न कांग्रेसको प्रस्ताव


जनकपुरधाम – नेपाली कांग्रेसले प्रदेश २ को नाम ‘मिथिला भोजपुरा’ राख्नुपर्ने भन्दै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएको छ ।

प्रदेश सभा सचिवालयले प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रस्ताव आह्वान गरेको अन्तिम दिन बिहीबार कांग्रेसले नाम र स्थायी राजधानीको प्रस्ताव दर्ता गराएको हो । उसले स्थायी राजधानी जनकपुरधामलाई बनाउनुपर्ने प्रस्ताव दर्ता गराएको छ ।

प्रदेशमा कांग्रेसका १९ जना सांसद छन् । कांग्रेसले यसअघि पहिलो पटक प्रयास शुरु गर्दा पनि प्रदेशको नाम मिथिला भोजपुरा र राजधानी जनकपुरधाम हनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएको थियो ।

यसअघि प्रदेशको नाम मधेश हुनुपर्ने भन्दै सत्तारुढ जनता समाजवादी (जसपा) र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएको छ । नेकपा एमालेले प्रदेशको नाम जानकी हुनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएको छ । यी तीनै दलले स्थायी राजधानी जनकपुरधाम हुनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएको छ ।

प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने प्रकृया दोस्रो पटक शुरू हुन लागेको छ । यसअघि २०७६ साल चैत महिनामा भएको पहिलो प्रकृया फेल भएको थियो ।

 

प्रतिक्रिया