

त्रिकोणात्मक सिरिजः केसीको तुफानी पारिसँगै मलेशियालाई २ सय १८ रनको लक्ष्य

काठमाडौं – त्रिकोणात्मक सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालले मलेशियालाई २ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा मलेसियाले टस जितेर फिल्डिङ रोज्ने निर्णय गरेपछि नेपाल ब्याटिङ्गमा उत्रिएको थियो ।
नेपालका लागि लगातार तीन खेलमा अर्धशतक बनाएका ओपनर कुशल भुर्तेल १६ रन बनाउँदै आउट भए । त्यसपछि कप्तान ज्ञानेन्द्र खड्का र अर्का ओपनर आशिफ शेखले उत्कृष्ट साझेदारी गर्दा गर्दै नेपालले १ सय ६ रन बनाउँदा कप्तान मल्ल ४१ रन बनाएर आउट भए । सोही ओभर नै नेपालका अर्का ओपनर शेख पनि ४२ रन बनाउँदै पेभेलियन फर्किए ।
त्यसपछि उपकप्तान दिपेन्द्र सिंह ऐरीले तुफानी पारी खेल्दै १७ बलमा ३३ रन बनाएर आउट हुँदा विनोद भण्डारीले ८ बलमा ८ रन नै बनाए । त्यसपछि कुशल मल्ल र करण केसीको जोडीले नेपालको पारीलाई २ सय रन पार गरायो । केसीले १३ बलमा ४५ रन बनाउँदा ७ छक्का प्रहार गरे भने मल्लले १९ रन बनाए । त्यसपछि अन्तिममा आएका सोमपाल कामी इनिङकोे अन्तिम बलमा २ रन बनाउँदा आउट भए ।
मलेशियाका लागि मोहम्मद वाफिकले ४ ओभरमा ४६ रन खर्चँदै १ विकेट लिए भने फित्री सामले ४ ओभरमा ३२ रन खर्चिँदा २ विकेट हात पारे । त्यस्तै अनवर रहमानले ४ ओभरमा ३७ रन खर्चँदै २ विकेट लिए भने सायद अजिजले अन्तिम ओभरमा ४ रन खर्चँदै २ विकेट हात पारे ।
मलेशियाका लागि धिवेन्द्रन मोगान सर्वाधिक महंगो सावित भए । उनले ४ ओभरमा ६३ रन खर्चिए ।
मलेशियाले भर्खरै ब्याटिङ सुरु गरेको छ ।

