कटुवा पेस्तोलसहित पक्राउ


लहान – प्रहरीले कटुवा पेस्तोलसहित सिरहाको सखुवानन्कारकट्टीबाट एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय महेशवारी र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले कटुवा पेस्तोलसहित सखुवानानकारकट्टी गाउँपालिका-३ परियारपुर निवासी ५५ वर्षीय बालेश्वर यादवलाई पक्राउ गरेको हो ।

प्रहरीको टोलीले घरमा तलासी लिँदा झोलामा लुकाइराखेको अवस्थामा उक्त पेस्तोल र गोली बरामद भएको जनाएको छ । पक्राउ परेका यादवकोे साथबाट एक थान कटुवा पेस्तोल र सोको एक राउण्ड गोली बरामद गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिए ।

आगलागीमा रु १५ लाख क्षति

विद्युत् चुहिएर आज बिहान सिरहाको मिर्चैया नगरपालिका-६ जीवामा आगलागी हुदाँ करिब रु १५ लाख मूल्य बराबरको क्षति भएको छ भने एक महिला घाइते भएकी छन् ।

आगलागीबाट स्थानीय सन्तु राउतको घर पूर्णरूपमा जलेर नष्ट भएको छ । घरमा रहेका भाँडाकुँडा, फर्निचर, खाद्यान्नलगायतका सबै सामान जलेर नष्ट भएकोे प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा राउतकी ३५ वर्षीया श्रीमती प्रमिला राउत घाइते भएको बताइएको छ ।

उनको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

यात्रु घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका-७ पुरानो चोहर्वामा कार र विङ्गर आपसमा ठोक्किँदा आधा दर्जन यात्रु घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको ना१ज ८८८५ नंको टाटा विङ्गर र विपरीत दिशाबाट आइरहेको प्रदेश ३-०१-०२२च२५३६ नंको कार आपसमा ठोक्किँदा कारमा सवार दुई र विङ्गरमा सवार पाँच यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये नौ वर्षीय एक बालकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रतिक्रिया