

सार्वजनिक सवारीलाई चेक गर्ने यी हुन् काठमाडौंका १७ ठाउँ, नियम यस्ता छन्

काठमाडौं – काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीले सरकारले जारी गरेको मापदण्ड पालनाबारे चेकजाँच गर्न काठमाडौंका २० स्थानमा ट्राफिक प्रहरी परिचालित भएका छन्। नियमित १७ र आकस्मिक ३ गरी काठमाडौंको विभिन्न २० स्थानमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरी खटाएको हो।
जिल्ला प्रशासन कार्यालय, काठाडमौंका सिडिओ, सहायक सिडिओ, यातायात व्यवस्था विभागका महानिर्देशक र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखले सार्वजनिक यातायात सञ्चालनमा चेकजाँचको लागि खटाइएको चेक प्वाइन्टहरुको अनुगमन सुरु गरेका छन्।
बिहीबार बिहान काठमाडौंका सिडिओ कालीप्रसाद पराजुली, सहायक सिडिओ जनकराज भट्ट, यातायात विभागका महानिर्देशक नमराज घिमिरे र ट्राफिक प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईको टोली कोटेश्वर पुगेर अनुगमन गरेका हुन्।
७ वैशाखमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) काठमाडौंबाट निर्णय भएअनुसार उनीहरुले चेकजाँचको लागि खटाइएको १७ वटा चेक प्वाइन्टहरुको अनुगमन गर्नेछन्। उक्त ठाउँमा नियमित रुपमा प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म चेकिङ हुने ट्राफिक प्रमुख भट्टराईले जानकारी दिए।
कोरोनभाइरस संक्रमण बढ्दै जान थालेपछि सार्वजनिक डीसीसीएमसीको बैठकले सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सेनिटाइजरको व्यवस्था थर्ने, चालक र सहचालकले मास्क र भाइजर लगाउने, १० रुपैयाँमा मास्क उपलब्ध गराउनुपर्ने लगायतको निर्णय गरेको थियो।
त्यस्तै लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी सुरु गन्तव्यदेखि अन्न्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुहरुको विवरण जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र काठमाडौंलाई उपलब्ध गराउनुपर्ने बैठकले निर्णय गरेको छ।
चेकजाँच गर्न खटाइएको चेक प्वाइन्टहरु:-
१. नयाँबजार
२. पुरानो बसपार्क टुँडिखेल
३. कमलपोखरी काठ गोदाम
४.साल्ट ट्रेडिङ कालीमाटी
५. बल्खु कीर्तिपुर जानेतर्फ
६. कीर्तिपुर गेट
७. कलंकी चोक
८. सितापाइला
९. बाइपास जाने मोड
१०. नारायण गोपाल चोक
११. धुम्बाराही चोक
१२. चुच्चेपाटी
१३. पिंगलास्थान
१४. कोटेश्वर–जडीबुटी
१५. सातदोबाटो गोदावरीतर्फ
१६. एकान्तकुना आउट हुने
१७. स्टार अस्पताल अगाडि
अन्य तीन स्थान काठमाडौं मल अगाडि, शान्तिबाटिका र त्रिपुरेश्वर चोकमा आकस्मिक रुपमा चेकिङ हुने महाशाखाले जनाएको छ।

