

प्रधानमन्त्री ओली–नेता नेपालबीच भएको वार्ताको गुह्य यस्तो छ

काठमाडौं– धुमिल मौसम थियो। सादा पोशाकका सुरक्षाकर्मी र प्रहरी नक्सालस्थित नागपोखरीतिर छ्यापछ्याप्ती भए, बुधबार साँझ। विस्तारै सञ्चारकर्मी खचाखच भइसकेका थिए।
होटल मेरियटको ९०१ नम्बर कोठामा प्रधानमन्त्री केपी शर्मा ओली पुगिसकेका थिए। केहीबेरमा आइपुगे पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपाल।
एमालेभित्र समानान्तर गतिविधि सुरु गरेपछि बढेको चिसो सम्बन्ध सुधार गर्न सकिने आशामा वार्तामा बसेका दुवैबीच डेढ घन्टासम्म नेकपा हुँदाका गतिविधि र एमाले ब्युँतिएपछिका घटनाक्रमको समिक्षा भयो।
अर्थमन्त्री विष्णु पौडेल दुवै नेताबीच छलफल सुरु हुँदाका क्रममा थिए तर उनी केहीबेरमा वान टु वान छाडेर बाहिर निस्किएका थिए।
के कुराकानी भयो?
अघिल्लो दिन कडा कारबाहीको चेतावनीपत्र दिएका ओलीले नम्रताका साथ नेपाललाई भने,‘१० गतेको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुनुस्, स्पष्टिकरणसहितका सबै पत्र फिर्ता हुनेछन्। मिलेर जाऔं।’
यति मात्र नभएर ओलीले २८ फागुनका निर्णय फिर्ता हुन नसक्ने र त्यसमा कुनै अर्को सहमति गर्न सकिने प्रस्ताव समेत गरेका थिए। उनले महाधिवेशनमा जान जोड दिँदै समयमा महाधिवेशन गरी नेतृत्व लिनका लागि पनि नेपाललाई प्रस्ताव गरेका थिए। स्रोतले भन्यो,‘यतिसम्म लचक भएर प्रधानमन्त्रीले प्रस्ताव गर्नुभएको छ, फेरि वार्ता गर्ने भनी टुंगो लागेको छ।’
नेपालले सामूहिक रुपमा नै वार्ता गरेर समस्या समाधानको पाटोतिर लम्किनुपर्ने बताउँदा ओलीले पार्टी त्यसरी नचल्ने र गुट भन्दा पनि अब पार्टी नेता कसरी अगाडि बढ्ने भन्ने विषयमा सोच्न भनेका थिए।
नेपाल पक्षलगायतलाई ओलीले मंगलबार मात्र संघीय सांसद किन राख्ने प्रश्नसहितको स्पष्टिकरणपत्र लेखेका थिए। जसको विरुद्धमा सर्वोच्च अदालत पुगेकै दिन ओलीसँग नेपालको वार्ता भएको थियो। सम्भवतः विहीबार पनि ओली–नेपाल वार्ता हुनेछ।
संवादको थालनी भएको र यसलाई सम्भव बनाउनका लागि नेपाल पक्षबाट योगेश भट्टराई तथा ओली पक्षबाट गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ सक्रिय भएका थिए। एमालेभित्र विभाजन आउन नदिन पहल गरिएको दुवैको प्रतिक्रिया छ। दुवैले सकारात्मक परिणाम आउने आशा पनि गरेका छन्।

